सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०८१, आईतवार
1 Min Read
Aa

बैतडी – सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सिगास गाउँपालिका-५ ढुंगाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

उनले भने, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुंगाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौं। स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ।”

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन्। अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताए।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका-५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ।

सेती नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ। यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास-५ ढुंगाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो। लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्