काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन प्रक्रिया पूरा गरेपनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने दावी गरेको छ ।
शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुम सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) बमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन हुने बताए । उनले बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको समेत जानकारी दिए ।
उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमेजिम हुने भएकाले संवैधानिकरुपमा उपधारा २ बमोजिमकै सरकार गठन गर्न कुनै बाधा नहुने बताए । ‘राजनीतिक रुपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत जुटेको छ,’ उनले भने ।
बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने कुराको कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए ।
नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने बैठकको निर्णय छ ।


प्रतिक्रिया दिनुहोस्