काठमाडौं – कपाल झर्न रोक्ने र नयाँ पलाउने भन्दै प्रचार गरिएको श्रीकेश तेल नामक विवादित उत्पादनको प्रचार सामग्री काठमाडौं महानगरपालिकाले हटाएको छ । ‘अवैध रुपमा विक्री वितरण हुँदै आएको’भन्दै कतिपयले दाबी गरेका तर, कम्पनीले वैधानिक दाबी गर्दै आएको यो तेलको विज्ञापन महानगरले हटाएको हो ।
विज्ञापन मापदण्ड विपरीत र वडा कार्यालयबाट लिएको स्वीकृतिभन्दा ठुलो बनाएर प्रचार गरेको भन्दै हटाएको महानगरले जनाएको छ । उसले भनेको छ, ‘‘काठमाडौं महानगरपालिकाको विज्ञापन मापदण्ड विपरीत र वडा कार्यालयबाट लिएको स्वीकृति भन्दा ठुला विज्ञापन बोर्ड राखेको हुँदा श्री केशको बोर्ड निकालिएको छ ।’’
पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपतिलगायत प्रधानमन्त्रीसम्मको हातमा देखिने यो तेल आयुर्वेदिक उत्पादन भन्दै प्रचार गरिएको छ । आयुर्वेदिक भनेपछि औषधि व्यवस्था विभागमा अनुमति लिनुपर्ने हुन्छ । तर, सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री वितरण हुँदै आएको छ । विवाद भएपछि उत्पादकले ‘आयुर्वेदिक’ नभनेर ‘कस्मेटिक’ उत्पादन भन्दै प्रचार गर्दै आएको छ ।
‘सप्तऋषी आयुर्वेद’ नामक आयुर्वेद नाम संस्थाले यो तेल उत्पादन र विक्री वितरण गर्दै आएको बताएको छ । प्रति बोतल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित भएको छैन । यसले काम नगरे पनि कपाल नझर्ने र नयाँ उम्रने प्रचार भइरहेको प्रयोगकर्ताकै गुनासो छ । तर, सरोकारवाला निकायले भने कुनै चासो दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्