साताको अन्तिम कारोबार दिन सकारात्मक बन्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – साताको अन्तिम कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५.६३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९६६ अंकमा कायम भएको छ ।

११५ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १४ को स्थिर रह्यो । कुल ३ अर्ब १२ करोडको कारोबार भयो । नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा पनि होटल तथा पर्यटन समूह भने ३४२ अंक (६.९६ प्रतिशत) बढेको छ । यो समूहले नै बिहीबार समग्र बजार हरियो रहन बल पुग्यो ।

पर्यटकको संख्यामा सुधार आएसँगै होटलहरुको नाफा राम्रो देखिएको छ । होटलहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण राम्रो निकाल्ने अपेक्षा लगानीकर्तामा बढ्दा यो समूहमा उच्च वृद्धि देखिएको हो ।

होटल समूहका अलवा बैंकिङ ४, विकास बैंक ३२, फाइनान्स १४, हाइड्रोपावर ४ र निर्जीवन बीमा समूह १६ अंक बढे । जीवन बीमा ४३, उत्पादन ७ र माइक्रोफाइनान्स समूह ३८ अंक घटे ।

यस दिन धेरै मूल्य बढेका कम्पनीमा पनि होटल तथा पर्यटन समूहकै कम्पनीहरु अगाडि रहे । ओरियन्टल होटलको ८.४६, सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारागाउँ रिजेन्सीको ६.५६ प्रतिशत मूल्य बढ्यो । त्यस्तै नेपाल बैंकको मूल्य ५.९, नारायणी डेभलपमेन्टको ५.७, चन्द्रागिरि हिल्सको ५.६ तथा कालिन्चोक दर्शनको ५ प्रतिशत मूल्य बढ्यो ।

मूल्य धेरै घट्नेमा सबैको लघुवित्त, विन नेपाल, साधना र मनकामना स्मार्ट लघुवित्त अगाडि रहे । यी चारै कम्पनीको ४ देखि ४.७ प्रतिशतसम्म मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सोल्टी होटल, फस्र्ट माइक्रोफाइनान्स, पोखरा फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

Array