धेरै दिन टिकेन ओली-नेपालबीच सम्बन्धमा हार्दिकता, आरोप-प्रत्यारोप सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच पुनः आरोप–प्रत्यारोप सुरु भएको छ । पछिल्लो सत्ता समीकरण पश्चात ओली–नेपालको सम्बन्धमा सुधार आएको धेरैले अनुमान गरेका थिए । तर, सरकार बनेको दुई महिना पनि नबित्दै उनीहरुबीच आरोप–प्रत्यारोप सुरु भएको हो । गत शुक्रबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीको विरोध गर्न छाडेनन् । उनले २०७४ को निर्वाचनमा पाएको मतको कारण नेताहरुमा घमण्ड सवार हुँदा ०७९ को निर्वाचनमा क्षति व्यहोर्नु परेको ओलीलक्षित टिप्पणी गरे । ०७४ मा कम्युनिष्ट पार्टीले पाएको मत सदुपयोग हुन नसकेको उनको भनाइ थियो । कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताएका थिए ।

त्यस्तै, आज मकवानपुर जिल्ला कमिटीको कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले ओलीलाई गाली गर्न भ्याए । उनले ०७४ को निर्वाचनबाट प्राप्त मतलाई सदुपयोग गर्न नसकिएकै कुरा दोहोर्याए । उनले ओलीलक्षित टिप्पणी गर्दै नेतृत्वमा अहंकार हाबी हुँदा र आफूले आफैंलाई सर्वैसर्व ठान्दा दुर्घटना भएको बताए ।

‘०७४ सालको चुनावमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी झण्डै बहुमत ल्याउने अवस्थामा पुग्यो । एमाले र माओवादीबीचको एकता भइसकेपछि झण्डै दुई तिहाइ बहुमतको अवस्थामा पुग्यो । त्यो अवस्थामा संविधान बद्लिन सक्थ्यो । कानुन जस्तो पनि बनाउन सकिन्थ्यो । राज्यका सबै संरचनामा आमूल परिवर्तन गर्न सकिन्थ्यो । ठूला–ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन सकिन्थ्यो ।’ उनले भने, ‘विकासको नयाँ लहर शृष्टि गर्न सकिन्थ्यो । तर, नेतृत्वमा जब अहंकार हाबी हुन्छ, नेतृत्वले पार्टीको सिद्धान्तलाई लत्याउन थाल्छ, संविधान लत्याउन थाल्छ । उसले आफूलाई सर्वैसर्व ठान्दछ, अहङ्कारी बन्न पुग्दछ । त्यसपछि उसले सबै सीमा नाघ्छ । संविधान मिच्छ, पार्टीको विधान मिच्छ । पार्टीको बैठक अस्विकार गर्छ । छलफललाई वास्ता गर्दैन, अरुको ज्ञान, बुद्धि र क्षमतालाई प्रयोग गर्दैन । अनि संङ्गो आन्दोलनले धक्का खान्छ ।’

त्यसैगरी, सुदूरपश्चिम सरकारको नेतृत्वलाई लिएर सत्ता गठबन्धनमा माधव नेपालले भाँडभैलो मच्चाएको एमाले नेताहरुको बुझाई छ । एमाले अध्यक्ष ओलीले त सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रियामा माधव नेपालको भूमिकालाई लिएर सार्वजनिक रुपमै आलोचना गरेका थिए । त्यसपछि दुई नेताबीच आरोपप्रत्यारोप जारी छ ।

ओलीले भने माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै देखाईदिनको लागि पनि निर्णायक कदम चाल्न खोजेको स्रोतको दाबी छ । माधव नेपालको दलमा असन्तुष्ट सांसदहरुलाई साथमा लिएर अघि बढ्ने ओलीको तयारी छ । यसबारे ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array