कांग्रेसको ठहर: गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गैरसंवैधानिक काम भयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको ठहर गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको जनाएका छन् ।

प्रवक्ता महतले प्रदेश प्रमुखहरूले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको आरोप लगाए ।

गण्डकी प्रदेशसभा अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८(२) बमोजिम संविधानसम्मत गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदनियतपूर्ण ढंगमा फेरि सरकार आह्वान गरिनु पनि असंवैधानिक कदम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array