वैकल्पिक गठबन्धनको आधार तयार गर्दै देउवा-नेपाल: संकटमा प्रचण्ड नेतृत्वको गठबन्धन !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८१, शुक्रबार
3 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएपछि बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भयो। सो छलफलको निष्कर्ष सुनाउँदै गृहमन्त्री लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताए।

तर सो छलफल कांग्रेस सभापति देउवा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बढ्दो हिमचिमकाबीच भएको थियो। बाध्यात्मक अवस्थामा मात्रै वर्तमान गठबन्धनमा सहभागी भएका नेपाल जतिबेला पनि गठबन्धनबाट बाहिरिन सक्ने सक्ने आधार रहेको भन्दै देउवा नेपाललाई फकाउन तल्लीन छन्।

प्रचण्डले धोका दिएको निष्कर्ष देउवा र नेपालले यसअघि नै निकालिसकेका छन्। त्यसले देउवाले वर्तमान समीकरणको विकल्पमा वैकल्पिक गठबन्धन बनाउने पहल गर्दै आएका छन्।

एकीकृत समाजवादी वर्तमान सरकार बाहिदिँदा सरकार अल्पमतमा त पर्दैन तर एकीकृत समाजवादी सरकारबाट बाहिरियो भने जसपा पनि सरकारबाट बाहिरिने कांग्रेसको बुझाइ छ। जसपा र एकीकृत समाजवादी सरकारबाट बाहिरियो भने सरकार अल्पमतमा पर्छ र देउवाले चाहेजस्तो वैकल्पिक गठबन्धनको पक्षमा बहुमत पुग्छ।

यही विषयलाई मध्यनजर गर्दै बिहीबार प्रचण्ड, ओली र लामिछानेबीच छलफल भएको हो। सो छलफलमा एकीकृत समाजवादीको मागलाई सम्वोधन गर्दै लैजाने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ।

माधव नेपालको माग एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको छ। कांग्रेसभित्र वर्तमान गठबन्धनको विकल्प खोज्दै नयाँ गठबन्धन बनाउने विषयमा सहमति भएपनि कोसँग मिलेर गठबन्धन बनाउने भन्ने विषयमा मतभेद देखिएको छ।

सभापति देउवा एमाले र माओवादी बाहेकका दललाई समेटेर बैकल्पिक गठबन्धन बनाउने पक्षमा छन् भने इतर पक्ष दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने पक्षमा छन्।

संसदको सबैभन्दा ठूलो दल जसरी पनि गठबन्धन भत्काउने अभियानमा लागेपछि वर्तमान गठबन्धनको निरन्तरतामा प्रश्न उब्जिएको छ।
समीकरण बनेको डेढ महिनामै सत्तारूढ दलहरू फेरि टाढिन थालेका छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले पूर्वसहमति तोडेको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिमबाट विद्रोह गरे गठबन्धनमा तरंग पैदा भएको छ।

सत्ता समीकरण बनेको दुई महिना पनि नपुग्दै विवाद सुरु भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस उत्साहित भएको छ र त्यसमा खेल्ने प्रयास गरिरहेको छ। नयाँ समीकरण बनेलगत्तै कांग्रेस सरकारमा आउन धेरै समय नलाग्ने बताइरहेका कांग्रेस नेताहरूले गठबन्धनमा दरार उत्पन्न भएपछि राहत महसुस गरेका छन्।

गत फागुन २१ गते नयाँ समीकरण बनेपछि कांग्रेस सत्ताबाट एकैचोटि प्रतिपक्षीमा पुगेको थियो। केन्द्रमा मात्रै होइन प्रदेशमा पनि कांग्रेस नेतृत्वका सरकार क्रमशः बदलिने प्रक्रियामा छन्। कांग्रेसले प्रदेशका सरकार जोगाउन अनेक प्रयास गरिरहेको छ।

उसो त प्रदेशमा मात्रै होइन केन्द्रमा पनि नयाँ समीकरण बनाउने कांग्रेसको स्वाभाविक प्रयास छ। कांग्रेसले चाहे अनुसारको वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको चार र नागरिक उन्मुक्तिको चार सिट जोड्दा १३८ सिट हुन्छ।

प्रतिक्रिया दिनुहोस्

Array