भोट सूर्यलाई दिनुस्, सुहाङ र विकासको जिम्मा एमालेले लिन्छ: अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताएका छन् ।

ईलाम क्षेत्र नम्बर २ को मंगलबारेमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले योग्य उम्मेदवार उठाएकै कारण माओवादी केन्द्र, नेकपा तथा नेपाल परिवार दलले सुहाङ नेम्वाङलाई समर्थन गरेको बताए । ‘पढेलेखेको विद्वान युवा, १८ घण्टा काम गर्न सक्ने, १ पैसा तलमाथि भ्रष्टाचार नगर्ने, त्यस्तो नेता हामीले खडा गरेका छौं,’ उनले भने ।

सबैलाई आफैं–आफैं चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेका ओलीले बताए । इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै ओलीले अब जितेर जाने उम्मेदवारले पनि त्यतिकै योगदान देश र जनतालाई गर्ने ओलीले दाबी गरे ।

ओलीले इलामको विकासको जिम्मा एमालेले लिने बताए । ‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु, यहाँको विकासको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्,’ उनले भने ।

पैसा कमाउने हो भने ओरालो र उकालो दौडनु नपर्ने ओलीले बताए । सोफामा बसेर उपरखुट्टी लगाएरै पैसा कमाउन सकिने उनले प्रष्ट पारे । सुहाङ नेम्वाङ समृद्धिको सपना पूरा गर्न उकालो र ओरालो दौडिएको उनले बताए ।

इलामा बनाउने अभियानलाई पूर्णता दिन सुहाङ हिँडेको उनले प्रष्ट पारे । उनले इलामबाट सुहाङले चुनाव हार्दा सुहाङलाई होइन इलामलाई घाटा पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array