रास्वपाको निष्कर्ष: कांग्रेसले मिथ्या आरोप लगाएर बालहठ देखायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ चैत्र २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेसले बालहठ देखाएको टिप्पणी गरेका छन् । आज (सोमबार) सदन सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहभागी भएर फर्कने क्रममा उनले कांग्रेसले सत्य, तथ्य के हो ? भन्ने जान्न नचाहेर राजनीतिक पूर्वाग्रहको आधारमा आरोप लगाएको बताए । आज सभामुख घिमिरेले भोलि बस्ने प्रतिनिधि सभाको बैठकका काम कारबाही सहज बनाउन भनेरसबै दलहरुलाई छलफलका लागि बोलाएका थिए ।

‘बैठक सहमतिको नजिक गएन । हामीले पहिला प्रमुख प्रतिपक्षको कुरा सुन्यौं । यो एक खाल्को बालहठ जस्तो विषय वस्तु के, तथ्य के, सत्य के ? मिथ्या आरोप लागेको भरमा समिति माग गर्नु एउटा कुटिल चाल हो,’ उनले भने ।

कांग्रेसले मिथ्या आरोपका भरमा रवि लामिछानेको राजनीतिक, सामाजिक, आर्थिक, राजनीतिक र मानव अधिकार नै खारेज गरिदिने कुरा अगाडि सारेको उनको भनाइ छ । आरोपकै भरमा समिति बनाएर कुनै पनि अमुक व्यक्तिलाई बलिको बोका बनाउन नहुने उनले बताए ।

‘कुनै अमुक व्यक्तिलाई समिति बनाएर बलिको बोका बनाउन पाइन्छ ? यो माग मिल्दैन । हिजो उहाँहरु सरकारमा हुनुहुन्थ्यो नि । त्यतिबेला के हेरेर बस्नुभयो ? सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिनुभयो । त्यो तथ्यहीन जवाफ होला ? देशको कार्यकारी प्रमुखले दिएको जवाफ एउटा नजिर होईन ?’ उनले प्रश्न गरे ।

भोलि (चैत २७ गते) को प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक– २०८० माथि विचार गरियोस्’ भन्नेप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, कांग्रेसले भने गृहमन्त्रीलाई रोस्टममा जान र बोल्न नदिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array