आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’को दोस्रो भिडन्त आज: नेपाल ‘ए’लाई आज जित्नै पर्ने दबाब

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ चैत्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ ।

नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ ।

उता पिटर मुर, स्टेफन डोहेनी र निल रक प्रमुख ब्याटर हुन् । ग्यारेथ डेलानी र केड कार्माइकल पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ ।

आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array