३८ वर्षका प्रेमीले गरे १५ वर्षीया ज्ञानमति राईको हत्या !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

विराटनगर – मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ बर्सिया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भई मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरी मंगबलार सार्वजनिक गरेको हो । हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राती २ बजे पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका चौधरी र राई डेढ वर्ष देखी माया प्रेममा रहेको प्रहरीले जनाएको छ । किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । चौधरी विवाहित हुन् । उनकि श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारमा रहेका छन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमाफर्त किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । पक्राउ परेका चौधरीको १४ वर्षको छोरा रहेको छ । उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

खोटाङको ऐँसेलु खर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ बर्सिया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्।

२ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन् । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array