नगर प्रहरीलाई आक्रमण गर्ने फुटपाथका व्यापारी नभएर एमाले कार्यकर्ता भएको बालेन शाहको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले केही दिनअघि सुन्धारामा नगर प्रहरीमाथि आकमण गर्ने फुटपाथ व्यवसायी नभएर नेकपा एमालेका कार्यकर्ता रहेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्रामर्फत मेयर शाहले नगर प्रहरीले कसैलाई आक्रमण गरेको नभई आत्मरक्षा मात्रै गरेको प्रस्टीकरण पनि दिएका छन्। फलामका छडले नगर प्रहरीमाथि नै आक्रमण गरेपछि त्यसको प्रतिकार गर्नका लागि बल प्रयोग भएको उनको दाबी छ।

सोही स्टाटसमार्फत उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ आधा मात्रै भएको र सुरुको आधा भाग संघीय सरकारले नै मेटाएको आरोपसमेत लगाएका छन्। गत बुधबार साँझ भएको सो घटनामा नगर प्रहरीले अमानवीय तवरमा बल प्रयोग गरेको भन्दै धेरैतिरबाट आलोचना भइरहेको छ।

मेयर शाहले नगर प्रहरीको टाउकोमा लागेको चोटपटकसमेतको तस्बिर सार्वजनिक गर्दै सो घटनाबारे पहिलोपटक मुख खोलेका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array