धितोभन्दा दोब्बर ऋण प्रवाह प्रकरणमा तीन बैंकका कर्मचारी प्रहरीको निगरानीमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८०, मंगलवार
4 Min Read
Aa

काठमाडौं – धितोभन्दा दोब्बर ऋण प्रवाह गरेपछि १० जना बैंकरहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। तत्कालिन सेञ्चुरी कमर्सियल बैंकमा मिलेमतोमा धितोको एक अर्ब रुपैयाँको ओभर भ्यालुएसन (अधिक मूल्यांकन) भएको खुलेपछि १० जना बैंकरलाई अनुसन्धानमा लिएको हो। सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार १ अर्ब १४ करोड २३ लाख ८४ हजार २ सय ५८ रुपैयाँको धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७ सय ३१ रुपैयाँ ऋण प्रवाह गरिएको थियो।

यसरी ऋण प्रवाह गर्ने भूमिका रहेका सबैलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो। सिआइबीले उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानको लागि सात दिनको समय समेत लिइसकेको छ। मंगलबार तत्कालिन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर पक्राउ परेपछि कर्मचारीको मिलेमतोमा धितोको अधिक मूल्यांकन गरी ऋण प्रवाह भएको खुलेको हो।

धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालिन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौतमसहित तत्कालिन सीईओ मनोज न्यौपाने र कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ रहेका छन्।

तत्कालिन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन्। सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएपछि अहिले प्रभु बैंकको नामबाट कारोबार भइरहेको छ। प्रहरीका अनुसार सहकारीमा आएको समस्याबाट अहिले ऋण उठ्न नसकेपछि बैंकरहरु पक्राउ पर्न थालेका हुन्। प्रहरी स्रोतले दिएको जानकारी अनुसार अझै तीन वटा बैंकका कर्मचारीहरु निगरानीमा रहेका छन्।

प्रहरीले दिएको जनाकारी अनुसार प्रभु बैंकले सेञ्चुरी बैंकको उक्त कर्जा असुल गर्नका लागि पटक–पटक ताकेता र धितो समेत लिलाम गर्नका लागि सूचना जारी गरे पनि धितोको मूल्यांकन कर्जाभन्दा कम भएपछि सो धितो बिक्री नसक्दा बैंकले नियमक निकाय राष्ट्र बैंकलाई आग्रह गरेको थियो। राष्ट्र बैकले एक महिना अघि स्थलगत अनुगमन गरेपछि त्यसबारेमा थप अनुसन्धान गर्न सिआइबीलाई आग्रह गरेको थियो।

तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंक स्रोतका अनुसार धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य कर्जाको तुलनामा आधा पनि छैन। चौलागाईं सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन्। सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँ रुपैयाँ हिनामिना गरेर अहिले हिरासतमा रहेका चौलागाईंले विभिन्न बैंकसँग साढे ३ अर्ब बढी ऋण लिएको भेटिएको प्रहरीको दावी छ।

देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनले आफ्ना विभिन्न कम्पनीहरूका लागि चारवटा वाणिज्य बैंकबाट तीन अर्ब ६८ करोड रुपैयाँ ऋण लिएको भेटिएको हो। स्रोतका अनुसार उनको प्रभु बैंक (तत्कालीन सेञ्चुरी कमर्सियल) २ अर्ब ४० करोड, तत्कालीन मेगा (हालको नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकबाट पनि ७० करोड, एनआईसी एसिया बैंकबाट ४० करोड र माछापुच्छ्रे बैंकबाट १८ करोड रुपैयाँ ऋण लिएका छन् ।

प्रहरीले ती बैंकमा पनि निगरानी बढाएको छ। प्रहरीले दिएको जानकारी अनुसार चौलागाईं आबद्ध कम्पनीहरु पुजा ट्रेडिंग एण्ड मार्केटिंग कम्पनी प्रा.लि., थ्री ब्रदर्स मार्केटिंग प्रा.लि., पुजा मार्केटिंग प्रा.लि.र अन्नपूर्ण डिष्टिलरी प्रा.लि. समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्यांकन भन्दा कमजोर भएको हो।

प्रतिक्रिया दिनुहोस्

Array