प्रचण्डलाई काउन्टर दिन ओली-शेखर एकै ठाउँमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाईरहेको छ । २०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धको सम्झनामा माओवादीले हरेक वर्ष आजकै दिन जनयुद्ध दिवस मनाउँदै आईरहेको छ ।

नेपालबाट २४० वर्षसम्म जरा गाडेको निरंकुश राजतन्त्र फ्याँकेर गणतन्त्र स्थापना गर्न कोशेढुंगा बनेको जनयुद्धको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको थियो । तर, सर्वोच्च अदालतले सरकारको निर्णय खारेज गरेपछि यस वर्ष सार्वजनिक बिदा भएन । यद्यपि माओवादी केन्द्रले जितेका स्थानीय तहले भने धमाधम सार्वजनिक बिदा दिएका छन् ।

नेकपा माओवादी केन्द्रले जनयुद्धलाई महान क्रान्तिको संज्ञा दिँदै हर्षोल्लासका साथ मनाईरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने काउन्टर दिएका छन् ।

ओली र कोइराला आज मानव अधिकार एलायन्सले राजधानी काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् । ओली र कोइराला उपस्थित कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जो लगायत सहभागी रहेका छन् ।

ओली र कोइराला दुवै जनयुद्धलाई कडा रुपमा विरोध जनाउने व्यक्ति हुन । तत्कालीन नेकपामा रहँदा बाध्यात्मक परिस्थिति भन्दै जनयुद्ध स्वीकार गरेका अ‍ोलीले नेकपा विभाजन पछि चर्को स्वरमा आलोचना गर्दै आएका छन् । जनयुद्धलाई रक्तपातको संज्ञा दिँदै ओलीले पटक-पटक मान्छे मार्ने दिनको संज्ञा दिएर विरोध जनाउँदै आएका छन् । उनले मान्छे मारेको दिनलाई उत्सवको रुपमा मनाउन नहुने बताउँदै आएका छन् ।

यता कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता कोइराला पनि जनयुद्धप्रति कडा टिप्पणी गर्ने नेता हुन् । उनले पनि पटक पटक जनयुद्धलाई उत्सवको रुपमा मनाउन नहुने भन्दै आएका छन् । पछिल्लो समय सत्ता साझेदार दलमै भएपनि नेता कोइरालाले नेकपा एमालेसँग हिमचिम बढाउँदै लगेका छन् । कोशीमा आफू निकटलाई मुख्यमन्त्री बनाउनदेखि एमाले नेतृलाई राष्ट्रिय सभामा विजयी गराउनसम्म एमालेसँग मिलेका कोइराला र ओलीबीच दिर्घकालसम्म सहकार्य हुनेसमेत चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array