भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं – दक्षिण अफ्रिकामा सम्पन्न यू-१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। साविक विजेता भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले चौँथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।

आइतबार दक्षिण अफ्रिकामा भएको फाइनलमा भिडन्तमा पाँच पटकको च्याम्पियन भारत अस्ट्रेलियासँग पराजित हुँदा छैटौँ पटक उपाधि जित्ने सपना पुरा गर्न असफल भयो। अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। त्यसअघि अस्ट्रेलियाले सन् १९८८ को पहिलो संस्करण र २००२ मा उपाधि जितेको थियो।

आइतबार अस्ट्रेलियाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमै समेटियो। भारतका लागि ओपनर आदर्श सिंहले ४७ रन जोड्नु सर्वाधिक रह्यो। त्यस्तै मुशीर खानले २२ रन बनाउँदा आठौं नम्बरमा ब्याटिङका लागि आएका मुरुगन अभिषेकले ४२ रन जोडेका थिए। तर भारतको जितको सपना भने पूरा भएन। भारतलाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका महली ब्रेडम्यान र रफ म्याकमिलनले ३-३ विकेट लिए। कोलुम भिडलरले २ विकेट लिए।

त्यसअघि बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो। अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान दिंदा ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए।

यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरेका थिए। भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।

 

प्रतिक्रिया दिनुहोस्

Array