कुटाकुटपछि बिथोलिएको एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ मा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनको बन्दसत्र आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ । यसअघि गत शुक्रबारबाट सुरु अधिवेशनमा विवाद भएपछि शनिबारबाट रोकिएको थियो ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार दोस्रो विज्ञप्ति जारी गर्दै अवरुद्ध बन्द सत्र आगामी फागुन १ गते सुरु गर्ने जानकारी गराएका हुन् । अध्यक्ष देवकोटाले अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागे आवश्यक सबै कामहरूमा निर्देशन एवं सहजीकरण गर्ने समेत जनाएका छन् ।

‘ २०८० माघ २१ गते देखि सुरु भएको बन्द सत्र आन्तरिक तयारी गर्नुपर्ने भएकोले रोकिँदै आएकोमा २०८० माघ २३ गते एमाले केन्द्रीय संगठन विभागको अधिवेशन स्थगित कारबाही सुरु गर्नेबारे प्राप्त पत्रका आधारमा आगामी फागुन १ गते ११ बजेबाट बन्द सत्र सुरु हुने जानकारी गराउँछु’ देवकोटाले भनेका छन् ।

एमाले धादिङ अधिवेशनमा राजनीतिक दस्तावेज पेश गर्नेक्रममा विवाद भएको थियो । विवाद पछि नेताहरुबीच कुटाकुट हुँदा सन्तोष खनालको एउटा हातसमेत भाँचिएको थियो । नेताहरुबीच हात हालाहालको स्थिति सिर्जना भएपछि एमाले धादिङको विवाद पार्टी हेडक्वाटरसम्म आईपुगेको थियो ।

अधिवेशनका क्रममा विवाद भएर हात हालाहालको अवस्था आएपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा र हालका अध्यक्ष भूमि त्रिपाठीसहितका नेतालाई काठमाडौँ बोलाएर अधिवेशन नरोक्न निर्देशन दिएका थिए ।

एमाले धादिङमा अध्यक्ष ओलीनिकट दुई गुटको लडाइँ छ। अध्यक्षमा हालका अध्यक्ष भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्। दुवै जनाले समूह बनाएर प्रतिस्पर्धाको तयारी गरेपछि पाँच प्रतिशत प्रतिनिधि मनोनीतको विषय विवादको रूपमा देखा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array