यू-१९ विश्वकप: नेपालको सेमिफाइनल पुग्ने सम्भावना कति ? आईसीसीको नयाँ प्रावधानले समस्या !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०८०, सोमबार
4 Min Read
Aa
EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Dev Khanal of Nepal reacts after hitting 50 during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं – नेपाल आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेपछि खेलप्रेमी उत्साहित छन् । समूह चरणमा एक खेल जितेर सुपर सिक्समा पुगे पनि नेपालको अबको यात्रा भने निकै कठिन देखिएको छ ।

नेपाल सेमिफाइनलमा पुग्न सम्भव छ त ? अहिले क्रिकेटप्रेमीको मनमा यो प्रश्न उब्जिरहेको छ । नेपालले सुपर सिक्समा दुई प्रतिद्वन्द्वी भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । आइसीसीले सुपर सिक्सको फर्म्याट यस्तो बनाएको छ कि नेपाललाई सेमिफाइनल पुग्न फलामको च्यूरा चपाए जस्तो गाह्रो छ ।

भारत र बंगलादेशलाई हराएर मात्रै पनि नेपाल सुपर सिक्समा पुग्न सक्दैन, अन्य टोलीको नतिजामा पनि निर्भर रहनु पर्नेछ । सुपर सिक्समा नेपालले बुधबार बंगलादेश र शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्सका लागि दुईवटा समूह बनाइएको छ । नेपाल रहेको समूह- १ मा भारत, पाकिस्तान, न्यूजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड छन् । समूह- २ मा अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, इंल्यान्ड, जिम्बाब्वे, र वेस्ट इन्डिज छन्। समूह चरणमा अहिले भारत र अमेरिका तथा अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा भइरहेको छ । तर, भारत र अमेरिकाबीचको खेलको नतिजाले खासै प्रभाव पर्ने देखिदैन ।

सुपर सिक्समा रहेका सबै टोलीबीच एक आपसमा प्रतिस्पर्धा भने हुनेछैन । बरु समूह चरणमा प्रतिस्पर्धा नगरेका दुई टोलीसँग मात्रै हरेक टिमले खेल्नु पर्नेछ । अर्को महत्त्वपूर्ण कुरा समूह चरणमा पाएको अंकबाट समेत सुपर सिक्समा फाइदा पुग्नेछ ।

समूह चरणमा बंगलादेश र आयरल्यान्डलाई हराएको भारत तथा न्युजिल्यान्ड र नेपाललाई हराएको पाकिस्तान समान ४-४ अंकसहित सुपर सिक्समा पुगेका छन् ।

यसमा सुपर सिक्समा नपुगेको टोलीलाई हराउँदा पाएको समूहको अंक भने जोडिएको छैन । जसका आधारमा न्युजिल्यान्ड र बंगलादेशको समान २-२ अंक छ भने नेपाल र आयरल्यान्ड अंकविहीन छन् ।

एकै समूहबाट सुपर सिक्समा पुग्ने टोलीबीच प्रतिस्पर्धा नहुने र समूह चरणकै नतिजाका आधारमा अंक जोडिने भएकाले नेपाल समस्यामा परेको हो । समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो । तर, अफगानिस्तान समूह चरणमै रोकिएकाले नेपाल सुपर सिक्समा अंकविहीन भएको हो ।

कसरी पुग्न सक्छ त नेपाल सेमिफाइनल ?

सेमिफाइनल पुग्न नेपालले सुपर सिक्समा भारत र बंगलादेशलाई त हराउनै पर्नेछ । तर, यतिले मात्रै पुग्नेछैन । समान ४ अंक रहेका भारत र पाकिस्तानमध्ये कम्तीमा एक टिमले नेपालको सेमिफाइनल सम्भावना जिवित राख्न दुवै खेल हार्नै पर्नेछ ।

एक-एक जितले मात्र पनि नेपालको सम्भावना समाप्त हुनेछ । भारतले नेपालबाहेक न्युजिल्यान्डसँग तथा पाकिस्तानले आयरल्यान्ड र बंगलादेशसँग खेल्नेछ । न्युजिल्यान्डको थप खेल आयरल्यान्डसँग हुनेछ ।

नेपालको सम्भावना कायम रहन न्युजिल्यान्ड र बंगलादेशले दुईमध्ये एक-एक खेल हार्नु पर्नेछ । नेपालसँगको खेल गुमाएर बंगलादेशले पाकिस्तानलाई हराए समूह- १ बाट सेमिफाइनलमा पुग्ने दुई टोलीको छिनोफानो रोचक बन्नेछ । तर, भारत र पाकिस्तानले एक-एक तथा न्युजिल्याण्ड र बंगलादेशले दुवै खेल जिते नेपाल आफ्ना दुवै खेल जितेर पनि सेमिफाइनल पुग्न सक्ने छैन ।

नेपाल र आयरल्यान्डलाई दुवै खेल जित्दै अन्य खेलको नतिजामा समेत भर पर्नु पर्नै बाध्यता रहे पनि भारत र पाकिस्तान सहज अवस्थामा छन् । न्युजिल्यान्ड र बंगलादेशलाई सेमिफाइनल पुग्न भने अंक तालिकामा आफुहरु भन्दा माथि रहेका भारत र पाकिस्तानले कम्तीमा एक-एक खेल हार्नु पर्नेंछ । अनि दुवैले आफ्ना दुवै खेल जित्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array