माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको अपिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज (शनिबार) माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनताको संघर्षबाट प्राप्त उपलब्धी र परिवर्तनको रक्षाको निम्ति छरिएर रहेका माओवादी घटकहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एक ढिक्का भएर काम गर्न अपिल गर्दछु,’– प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरुलाई राज्यले कुनै न कुनै सम्बोधन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । जनयुद्धका कतिपय घाइतेहरु सूचीकृत हुन छुटेको भन्ने आफूलाई जानकारी आएकाले सरकारले त्यसतर्फ पनि सम्बोधन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

साथै, वर्तमान सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array