कोशीमा ओली र शेखरबीच दोस्रो पटक गठजोड, माओवादीलाई फेरि धोका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं – राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनको सम्पूर्ण मतपरीणाम सार्वजनिक भएको छ । १९ सिटका लागि सातै प्रदेशमा भएको निर्वाचनमा नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ५, नेकपा एसका २ तथा नेकपा एमाले र जसपाका समान १ सांसद निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा सातै प्रदेशमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउँदा नेकपा एमालेले भने एकल उम्मेदवारी दर्ता गरेको थियो । सातै प्रदेशमा सत्ता गठबन्धनले साझा उम्मेदवारी दिँदा सत्ता गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित जस्तै थियो ।

तर, परीणाम सोचेजस्ते भने भएन सबैलाई चक्मा दिँदै कोशी प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् ।

उनले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरेर मत दिएका छन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरेका देखिन्छन् । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

कोशीमा एमाले उम्मेदवार जिताउन कांग्रेसको संस्थापन इतर समूहले साथ दिएको आशंका भईरहेको छ । नेपाली कांग्रेसमा संस्थापन इतर समूहको नेतृत्व डा शेखर कोइरालाले गर्दै आएका छन् ।

एमालेकी कोइरालालाई जिताउन संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले १७ जना स्थानीय तहका र तीन जना प्रदेश सभाका मतदातालाई फ्लोर क्रस गराएको स्रोतको दाबी छ । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।

एमाले र कांग्रेसको संस्थापन इतर समूका नेताबीच भएको यो दोस्रो सहकार्य हो । यसअघि गत असोज २७ गते कोशी प्रदेशमा कांग्रेसको संस्थापन इतर समूका नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत नपाउने भएपछि पदबाट राजीनामा दिएका थिए । कार्कीले राजीनामा दिएपछि सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो ।

केन्द्रले गरेको सहमतिलाई उल्लंघन गर्दै कोशीमा कांग्रेसको संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले एमालेसँग मिलेर सरकार बनाएका थिए । त्यो समयमा नै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता कोइरालाबीच गोप्य सहमति भएको स्रोतको दाबी छ ।

प्रदेश सरकार बन्ने बेलाको उक्त सहमति अनुसार नै अहिले नेता शेखर कोइराला पक्षका मतदाताले एमालेकी उम्मेदवार कोइरालालाई जिताएको उच्च स्रोतले जनाएको छ । सत्ता गठबन्धनले गरेको सहमति उल्लंघन गर्दै आफू पक्षका केदार कार्कीलाई मुख्यमन्त्री बनाएर ४ महिनाअघि माओवादीलाई धोका दिएका शेखर ले फेरि एकपटक माओवादीलाई धोका दिँदै एमाले उम्मेदवारलाई जिताएको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array