सरकार विरुद्ध सडक आन्दोलन थाल्ने एमाले तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ माघ २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । अहिलेको सत्ता गठबन्धन भत्काउन प्रयास गर्ने नसकेमा आन्दोलन मार्फत मध्यावधी चुनावमा जानुपर्ने निचोडमा एमाले अध्यक्ष केपी ओली पुगेका छन् । एमालेले आन्दोलनको आधार बनाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र समेत बुझाउँदैछ ।

गठबन्धन सरकारले एकवर्षे कार्यकाल पूरा गरेलगत्तै प्रमुख विपक्षी एमालेले नयाँ सरकारको विकल्प खोजी गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको हो । सत्तारूढ गठबन्धन भत्काएर अर्को सरकार बनाउने नसकेमा मध्यावधिमा लैजाने एमालेको तयारी छ । ओलीले जनताको बलमा निर्णायक आन्दोलन गरेर मध्यावधि चुनावमार्फत देशलाई निकास दिनुपर्ने अवस्था आउन सक्ने बताउन थालेका छन् ।

‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ? उस्तै परे हामीले गठबन्धन भत्काएर।।। तर लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ । त्यसैले, हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ । आन्दोलनका निम्ति पार्टीले जति वेला सिठी बजाउँछ, त्यति वेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्नुपर्छ । छोटो तयारीमा आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ । उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ  ।’

अध्यक्ष केपी ओलीले एक सातायता सार्वजनिक कार्यक्रममार्फत लगातार सरकारको विकल्प खोज्नका लागि आन्दोलन गर्ने घोषणा गर्दै आएका छन् । ओलीले सरकार असफल भइसकेकाले मिसन ०८४ भनेर एमालेले नकुर्ने भन्दै मध्यावधिको समेत संकेत गर्दै आएका छन् । १५ माघभित्र बस्ने केन्द्रीय सचिवालय बैठकले आन्दोलनको एजेन्डा पास गर्ने एमालेको तयारी छ ।

गठबन्धन भत्काउन एमालेले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारीमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि छुट्टाछुट्टै प्रस्ताव राखेको थियो । संक्रमणकालीन न्याय टुंगो लगाउन एमालेको साथ खोजेका प्रधानमन्त्री प्रचण्ड ओलीको विश्वासिलो भनाई नपाएपछि पछि हटे । गबठन्धनको प्रमुख खेलाडी कांग्रेस सभापति देउवाको रोडम्यापअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेसम्म गठबन्धन नटुट्ने बुझाइ भए पनि पछिल्ला दिनमा गठबन्धनभित्र संकट सुरु भएको एमालेको बुझाइ छ ।

गठबन्धन फुटाउन अध्यक्ष ओली कांग्रेस नेता शेखर कोइरालासँग निरन्तर सम्पर्कमा छन् । यसैबीचमा ओलीले रास्वपाका अध्यक्ष रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरू सम्मिलित टोलीले मंगलबार प्रचण्डलाई भेटेर जनताको समस्या र सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराउन लागेको हो । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा जनस्तरबाट आएका सुझाव, माग र समस्या समेटेर ध्यानाकर्षण बुझाएर सातवटै प्रदेशमा सभा गरेर पूरा गर्न अल्टिमेटम दिने र जनदबाब बढाएर आन्दोलन नै गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array