काठमाडौं – दोलखा चेम्बर अफ कमर्सको पाँचौ साधारण सभाले औद्योगिक, कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला आगामी आर्थिक वर्ष २०८१ कार्तिक १५ गतेदेखि २५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ ।
विष्णु श्रेष्ठले अध्यक्षता गरेको चेम्बरको पाँचौ साधारणसभाले भावी कार्ययोजना, सचीव र कोषाध्यक्षको प्रतिवेदन पास गर्नुका साथै दोलखा महोत्सवको आय व्यय विवरण पनि पास गरेको छ भने अन्य भावी योजनापनी साधारणसभाबाट सर्वसम्मत पास गरेको छ ।
यस्तै, आगामी आर्थिक वर्षबाट सदस्यको कार्य विभाजन गर्ने र सदस्य राहतकोष स्थापना गर्ने पनि उपाध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिए । उक्त सभामा विभिन्न विधामा उत्कृष्ट सम्मान पनि गरिएको छ ।
महिला उद्यमी तर्फ भिमेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको शिरीष कृषि तथा पशुपन्क्षि फर्मलाई सभामा सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट आर्थिक पत्रकारमा दिल सागर पौडेल (केसी)लाई सम्मान गरिएको छ । उत्कृष्ट रेडियोमा रेडियो भिमेश्वर लाई सम्मान प्राप्त भएको छ । साधारण सभामा नेपाल चेम्बरका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्ल प्रमुख अतिथि रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्