काठमाडौंका मेयर बालेनको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिए रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को खुलामञ्चलाई फूटबल मैदान बनाउने निर्णयविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् ।

काठमाडौंको खुलामञ्चलाई फूटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध शुक्रवार खुलामञ्चमै प्रदर्शन भएको छ । प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि रास्वपा सभापति रवि लामिछानेसम्म सहभागी भएका थिए ।

‘अकुपाइ टुँडिखेल’ नामक अभियानले खुलामञ्चलाई खुला नै रहन दिन खुलामञ्चमा आज दिउँसो प्रदर्शन गरेको छ । प्रदर्शनमा कलाकारहरू निर्मल शर्मा, गायक योगेश्वर अमात्य, भीम तुलाधर, पत्रकार ऋषि धमला, नेत्री हिसिला यमी लगायत सहभागी छन् ।

प्रदर्शनपछि पूर्व प्रधानमन्त्री डा. भट्टराईले खुलामञ्च पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन हुँदै जनप्रतिरोधको प्रतिबिम्व स्थल रहेको बताउँदै यसलाई खुला नै रहन दिन माग गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खुलामञ्चलाई खुलै रहन दिऊँ । यो पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्बस्थल हो । मलाई जीवनमा पहिलोपटक २०३६ सालमा यसैमञ्चमा हृषीकेश शाह लगायत मानवअधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ । बरू खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊँ ! जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन, सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौ । हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्र निम्ति शुभसंकेत हैन ।’

प्रतिक्रिया दिनुहोस्

Array