नेपाल एक चीन सिद्धान्तप्रति दृढ छ: प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ पुष २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन् । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताएका हुन् ।

“हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ,”– प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बताए । “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन,”– उनले भने ।
संस्कृति र परम्पराले नेपाल र चीन एकापसमा बाँधिएको बताउँदै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने विश्वास व्यक्त गरे ।

आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका नभएर साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए ।

आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको उनले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्

Array