काठमाडौं – सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलबाट उठ्न सकेको छैन। बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनलाई टाउकोमा गोली लागेको छ। उनको शव आज शनिबार बिहानसम्म पनि घटनास्थलमै रहेको छ।
मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका हुन । प्रदर्शनको क्रममा अर्का एक स्थानीयलाई पनि गोली लागेको छ। उनको अवस्था भने खतरामुक्त छ।
बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गत असोजको निर्णय बरहथवा नगरपालिकाले उल्टाएपछि कांग्रेससहितका दलले गरेको प्रर्दशनको क्रममा घटना भएको हो। प्रदर्शनको क्रममा मेयर कल्पना कटुवालको घरमासमेत आगजनी र तोडफोड भएपछि बलप्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।
झडपको क्रममा स्थानीयको ढुंगामुढा प्रहारबाट ८ जना प्रहरी घाइते भएका छन्। स्थानीयको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले बरहथवा नगर क्षेत्रमा शुक्रबार साँझदेखि कर्फ्यु लगाएको थियो । अहिले बरहथवा क्षेत्रको अवस्था सामान्य रहेको स्थानिय प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस्