वर्षमान पुनलाई अर्थमन्त्री बनाउन माओवादीभित्रैबाट प्रचण्डलाई दबाब !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको यही पुष १० गते एक वर्ष पुग्दैछ । प्रधानमन्त्री बनेको एक वर्ष पुग्न लागेको अवसरमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् ।

यसै सन्दर्भमा सरकारको नेतृत्व गरेको दल माओवादीभित्र भने अब मन्त्रिपरिषद् पूनर्गठन भए अर्थ मन्त्रालयको नेतृत्व पार्टीका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनलाई सुम्पिनुपर्ने आवाज उठ्न थालेको छ ।

अहिले माओवादीभित्र उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत एक ठाउँमा छन् । उनीहरु पार्टीभित्र संगठनमा पकड जमाउने नेताको रूपमा परिचित छन् । अहिले यी तीनै जना नेता एक ठाउँमा उभिएको चर्चा छ । महाधिवेशनताका महासचिवमा एक अर्काविरुद्ध प्रतिष्पर्धामा उत्रिएका पुन र शर्मा नै एक ठाउँमा उभिएपछि अर्का उपमहासचिव बस्नेत पनि अहिले पुन र शर्मासँग मिलेका छन् ।

अध्यक्ष प्रचण्डलाई पार्टीभित्र सबै हिसाबले चूनौति दिन यो गुट सक्षम रहेको चर्चा छ । कहिलेकाहीँ सार्वजनिक रुपमै प्रचण्डले पार्टीभित्र गुट खडा गरिएको भन्दै असन्तुष्टि पोख्ने गरेका छन् । अहिले प्रधानमन्त्री दाहालले सरकार गठन भएको एक वर्ष पुग्न लागेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठन गर्दा पार्टीको भागमा अर्थ मन्त्रालय लिनुपर्ने र त्यसको नेतृत्व पुनलाई गर्न दिनुपर्नेगरि मत बलियो भएको छ ।

अहिले अर्थमन्त्रालयको नेतृत्व नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महतले सम्हालेका छन् । महत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । कांग्रेसले नेतृत्व सम्हालेको अर्थ मन्त्रालयको नेतृत्व माग्न लगाएर पुन, शर्मा र बस्नेतको समूहले प्रधानमन्त्री दाहाललाई नै अप्ठ्यारोमा पार्न खोजेको पनि चर्चा माओवादीभित्र हुने गरेको छ ।

अहिले यो समूह कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नेगरि अघि बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुन निरन्तर सम्पर्कमा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array