एनसेल प्रकरण फासफुस पार्ने प्रयास रोक्न सबै ठाउँबाट प्रतिवाद गरौं: महामन्त्री थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौँ  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर खरिद–बिक्रीमा भएको अनियमितता रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट संघर्ष गर्न आह्नान गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारले छानबिन समिति बनायो भनेर ढुक्क हुने अवस्था नरहेको भन्दै सचेत गराए । उनले राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाई कसैले पनि यति ठूलो अनियमितता गर्ने हिम्मत गर्नै नसक्ने दाबी गर्दै कानूनको छिद्र प्रयोग गरेर अनियमितता गरेको आरोप लगाए ।

एनसेल प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

उनले लेखेका छन्, ‘जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन्, अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन् । अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौं, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौं, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट ।’

उनले एनसेल प्रकरणमा बदनियत राखिएको छ भन्ने विषयमा कुनै द्विविधा नरहेकोमा स्पष्ट हुन आग्रह गरेका छन् । एनसेल प्रकरणलाई समिति बनाएर फासफुस पार्ने र मिलेमतोमा टुंग्याउने प्रयास कतैबाट पनि हुन नदिन चारैतिरबाट खबरदारी गर्न आवश्यक रहेको उनले बताए ।

उनले भनेका छन्, ‘समिति औपचारिकतामा मात्र सीमित नहोस् । छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हरक्षण सचेत र चनाखो हुनु जरुरी छ । हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ । यस्तो हुन नदिन निरन्तर खबरदारी गरौं ।’

‘नेता होस् वा नाता, सरकारी–गैरसरकारी कसैले छुट पाउनु हुँदैन । कुनै व्यक्ति, संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहींकतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ,’ उनले भनेका छन्, ’अझै सशक्त ढंगबाट प्रतिवाद जरुरी छ, नागरिकस्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट । अतः सबै तिरबाट अझै संगठित र सामूहिक रूपमा प्रतिवाद गरौं,’ उनले लेखेका छन्, ‘समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुंग्याउने प्रयास कहीँकतैबाट नहोस् । सुनकाण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबीच जे–जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढंगले खबरदारी गरौं ।’

प्रतिक्रिया दिनुहोस्

Array