कर छल्नकै लागि एनसेलको शेयर सस्तोमा बिक्री !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं – आजियाटाले एनसेलमा आफ्नो स्वामित्व रहेको ८० प्रतिशत सेयर बिक्री गर्दा अरापदर्शी कारोबार गरेको छ। नेपालका नियामक निकायलाई थाहा नदिई कर छल्ने ध्येयले न्यून मूल्यमा सेयर बिक्री गरेको हो। सन् २०१६ को एनसेल किनबेचमा पुँजीगत लाभकर छल गर्ने प्रयास भएकोमा अहिले पनि अपारदर्शी ढंगले सेयर किनबेच गरेर राजस्व छल्न खोजेको सरोकारवालाले बताएका छन्।

विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको जनाएको छ। आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बेचेको हो। आजियाटा समूहको स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको हो। आजियाटाको सेन्टस् किटस् एन्ड नेभिसमा रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको ८० प्रतिशत सेयर दुई महिनाअघि दर्ता भएको कम्पनीले खरिद गरेको छ। एक अमेरिकी डलरमा खोलिएको बेलायतको कम्पनी स्पेक्ट्रालाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बिक्री गरेको हो।

- Advertisement -
Ad image

सन् २०१६ मा आजियाटाले एनसेलमा रहेको रेनोल्ड्स होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको थियो। सात वर्षमा खरिद मूल्यको ४.६५ मूल्य अर्थात् ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री हुनुले कर छल्न प्रस्ट नियत देखिएको छ। कर छल्ने उद्देश्यले अरापदर्शी कारोबार गरेको दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीले बताए। ‘आइपिओ जारी गरेको भए पनि आफ्नो लगानी उठाउन सक्थ्यो,’ ती अधिकारीले भने, ‘लाटो हिसाबले पनि यति सस्तोमा कम्पनी बिक्री हुनै सक्दैन।’ दूरसञ्चार प्राधिकरणलाई सूचना नदिनुले पनि नियत राम्रो नभएको ती अधिकारीले बताए।

एलसेल आजियाटाले घुमाउरो शैलीमा नेपाल सरकारलाई प्राप्त हुने करमा हानि पुर्‍याउने नियत देखिएको नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल बताउँछन्। खनाल एनसेल आजियाटाले अस्वाभाविक मूल्य र ग्रान्ड डिजाइनअनुसार नै सेयर बिक्री गरेको जस्तो देखिएको बताउँछन्। ‘एक वर्षकै करिब ६ अर्ब ६१ करोड नाफा गरिरहेको संस्थाले ५ करोड अमेरिकी डलरमा सेयर बिक्री गर्नुमा कुनै न कुनै भित्री स्वार्थ राखेर बेचेको हो कि भन्ने प्रशस्त शंका गर्न सकिने अवस्था छ,’ उनले भने, ‘एनसेल आजियाटाले वास्तविक मूल्यभन्दा पनि निकै कम मूल्यमा सेयर बिक्री गरेको देखिन्छ।’

एनसेल आजियाटा नेपालमा दर्ता भएको कम्पनी रहेको र उसले नेपालको कानुन मान्नुपर्ने खनालले बताए। एनसेलले कर निर्धारण गर्ने विभिन्न प्रक्रिया पनि पूरा नगरेको पूर्ववरिष्ठ निर्देशक खनालले दाबी गरे। उनले एनसेल आजियाटाले आफूले कमाएको लाभांश युकेमा पठाउन पनि राष्ट्रबैंकको पूर्वस्वीकृति अनिवार्य आवश्यकता पर्ने भएकाले पनि भविष्यमा पनि सहज वातावरण नहुने बताए। कानुनअनुसार नचलेको खण्डमा कम्पनीको लाइसेन्स पनि रद्द पनि हुन सक्ने अवस्था हुने उनले बताए। एनसेल आजियाटाले जसरी सहज ढंगले विदेशी कम्पनीलाई सेयर बेचेको छ। सोहीअनुसार नै मुनाफा लैजान पनि सहज नहुने उनको तर्क छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्