ओलीको बाहिर भाषण चर्को, सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०८०, मंगलवार
5 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन नसक्ने ठोकुवा गर्दै सरकारलाई सच्चिनको सुझाव दिईरहेका छन् । सरकारले आफूलाई करेक्शन नगरे एमालेले सडकबाट आन्दोलनको बलमा सरकार फाल्ने उनको उद्घोष छ ।

हालै बसेको पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा लामो समय खर्चिएर वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे ब्रिफिङ गरेका ओलीले वर्तमान सरकारलाई निशाना बनाएका थिए । उनले सरकार गलत दिशामा हिँडेको र राष्ट्र नै असफल हुने हो कि भन्ने चिन्ता जाहेर गरेका थिए ।

सो क्रममा उनले वर्तमान सरकार गठनमा एमालेको भूमिका, लगत्तै प्रधानमन्त्री दाहालबाट भएको धोका र सरकारमा कांग्रेसको प्रवेशमा अन्तर्राष्ट्रिय शक्तिको पनि संलग्नता रहेको र आफूलाई एउटा शक्तिले निरन्तर सत्ता बाहिर राख्न खोजेकोबारे ब्रिफिङ गरेका थिए । उनले वर्तमान सरकार ढाल्नको लागि पार्टी पँक्ति आन्दोलनको तयारीमा जुट्नुपर्ने अभिव्यक्ति दिएपछि धेरै केन्द्रीय सदस्यहरु आश्चर्यमा परेका थिए ।

उनले पार्टीको मंसिर १४ गतेबाट सुरू हुने महाकालीको झुलाघाटदेखि मेचीको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग अभियानलाई आन्दोलनकै रुपमा अघि बढाउने बताएका थिए । ओलीको अभिव्यक्तिअनुसार प्रधानमन्त्री प्रचण्डसँग यतिवेला उनको पानी बाराबारको सम्बन्ध हुनुपर्ने चर्चा हुने गरेको छ । तर, त्यस्तो चर्चालाई पनि चक्मा दिनेगरि यी दुई नेताबीच हार्दिकतापूर्वक भेटघाट तथा छलफल भैरहेका छन् ।

सरकार ढाल्ने उद्घोष गरेपछि पनि ओली र दाहालबीच फोन सम्वाद भैरहेको र आजमात्रैपनि यी दुई नेताबीच भेटवार्ता भएको तस्विर बाहिरिएको छ । प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारमा दुई नेताबीच आज भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले ओलीलाई नयाँ कार्यालयको अवलोकनसमेत गराएका थिए । उक्त कार्यालय ओलीको पालामा नै पूननिर्माण थालिएको थियो । भर्खरै प्रधानमन्त्री दाहालले उक्त कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै काम थालेका थिए ।

आज सोही कार्यालयिक भवनमा ओलीसँग उनको भेटवार्ता भएको हो । भेटवार्ता टिआरसी विद्येयक टुँगो लगाउने विषयमा केन्द्रित रहेको बताईएको छ । प्रधानमन्त्री दाहाल भोलि (बुधबार) युईएमा हुने कोप–२८ मा सहभागी हुन त्यतातर्फ जाँदैछन् । त्यसको अघिल्लो दिन प्रधानमन्त्री दाहालले ओलीसँग भेटवार्ता गरेको बताईएको छ । यसअघि पनि ओलीले प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।

अहिलेको व्यवस्था नै उल्टाउने घोषणासहित सडक–संघर्षमा उत्रिएका दुर्गा प्रसाईंले आफूविरुद्ध कम्बोडियामा तीन हजार करोड लगानी गरेको आरोप लगाएपछि ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटमा ओलीले आफूविरुद्ध गलत र भ्रमपूर्ण अभिव्यक्ति दिने प्रसाईंलाई ठेगान लगाउन प्रधानमन्त्री दाहाल गुहारेका थिए । लगत्तै १२ बुँदे पक्षधरसँग प्रधानमन्त्री दाहालले छलफल गरेका थिए । सो छलफलमा पनि ओलीले भाग लिएका थिए ।

पार्टीका बैठक र सार्वजनिक कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहालविरुद्ध आक्रामक र चर्को टिप्पणी गर्ने गरेका छन् । तर, भित्री रुपमा भने राजनीतिक–सामाजिक मुद्दामा भने सहकार्य गरिरहेका छन् । टिकटक बन्द गर्ने सवालमा होस वा अराजकतावादीको आन्दोलनमा दमन गर्ने कुरामा होस ओलीले प्रधानमन्त्री दाहालको कदमको समर्थन गर्ने गरेका छन् । पछिल्लो समय ओली र दाहालबीच ट्युनिङ मिलेको पनि चर्चा छ ।

राजावादीहरुले अहिलेको व्यवस्थामाथि धावा बोल्दा अग्रभागमा उभिएर त्यसको प्रतिकार गर्ने र पार्टीको युवा पँक्तिलाई सडकमा उतार्ने काम गरेका छन् । उनले गणतन्त्र उल्टाउन खोज्ने र व्यवस्थामाथि औंला उठाउनेको औंला नै तल झारिदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सम्हालेको आगामी पुष १० गते एक वर्ष पुग्दैछ । योबीचमा सरकार ढल्ने हल्लापनि चलेको थियो ।

तर, अहिलेको परिस्थिति र गणितले पनि प्रचण्ड नेतृत्वको सरकार भर्खरै ढलिहाल्छ भन्ने सोच्नपनि नसकिने एमालेकै नेताहरुको भनाई छ । तर, सरकारको यही रवैया रहे आफूहरु सरकारको विकल्प खोज्न ढिलाई गर्ने पक्षमा पनि नभएको ती नेताहरुको भनाई छ । चुनावअघि कांग्रेससँगको गठबन्धनमा रहेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्रीको लागि पहिले आफूलाई स्विकार नगरेपछि ओलीको साथ लिएका थिए । धेरैले एमाले–माओवादी सत्ता–सहकार्य असम्भव भनेको बेलामा सबैलाई आश्चर्यमा पार्दै एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए ।

तर, पछि विश्वासको मत लिँदासम्म कांग्रेसको पनि साथ पाएका प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा भने कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेललाई सघाएका थिए । त्यसपछि एमाले–माओवादीको गठबन्धन टुटेर कांग्रेस–माओवादी गठबन्धन बनेको हो । यो गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा र नागरिक उन्मुक्ति पार्टी छन् ।

सरकारबाट बाहिरिएपछि एमाले नेतृत्व पँक्तिले अहिलेको सत्ता गठबन्धन विदेशीको लागि कम्फर्टेबल भएको आरोप लगाउँदै आएको छ । तर, माग र मुद्दाका सवालमा भने ओलीले प्रधानमन्त्री प्रचण्डसँग भने निरन्तर सहकार्य गर्दै आएका छन् । संसदीय समितिको सभापतिको लागि पनि उनले सत्ता गठबन्धनसँग मिलेर नै आफ्नो कदम चालेका छन् । जसअनुसार प्रतिनिधिसभाअन्तर्गत एमालेले तीन वटा संसदीय समितिको सभापति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array