सेनाको भावी प्रधानसेनापतिको टुंगो लाग्यो, उपरथी अशोक सिग्देल रथी बढुवाका लागि सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

काठमाण्डौ – नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ । सैनिक मुख्यालयमा शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । सेनाले रथी सिताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो ।

बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउंमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो ।

सैनिक मुख्यालयले सिग्देलको समेत व्यक्तिगत विवरण छानविनपछि बढुवा प्रक्रिया अघि बढाएको दावी गरिएको छ । उनको समेत उमेर विवादको चर्चा थियो । तर,सिग्देलले सैनिक मुख्यालयमा बुझाएको डकुमेण्टमा समस्या पछि प्रक्रिया अघि बढाइएको सेनाका एक उपरथीले बताए । सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो । यसलाई लिएर सेना भित्र र बाहिर उनको नेतृत्व क्षमतामाथि प्रश्न खडा भएको छ ।

शर्माले नै पाण्डेको बढुवा प्रक्रिया अघि बढाउन जोडबल गरेको थिए । यद्यपी सरकारी निकायबाट आएको जवाफको आधारमा आफुले पाण्डेको प्रक्रिया अघि बढाएको प्रधानसेनापतिले जवाफ दिंदै आएका छन् ।

भावी प्रधानसेनापतिसंग जोडिएको रथी बढुवा विवादमा आएपछि सेनाले सिग्देलको समेत छानविन गरेर प्रक्रिया अघि बढाएको बताइएको छ । सेनाको बोर्ड बैठकले शुक्रवार सिग्देलको नाम सिफारिससहित सात दिने सूचना समेत जारी गरेको छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकास पाएसंगै उनको ठाउंमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले समेत यसलाई महत्वका साथ लिइएको हो ।

रथी बढुवाको लाइनमा यसपछि उपरथीहरु निर्मल थापा, सन्तोष ढकाल र बावुराम श्रेष्ठ समेत छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले रथी खड्काले पुष ३ पछि अवकास पाउने ठाउंमा कस्को बढुवा हुने भन्ने टुंगो लाग्न बांकी नै छ ।

उपरथी बढुवाको लाइनमा रहेका सहायकरथी सन्तोषबल्लव पौडेलले समेत १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको भन्दै अहिले सैनिक मुख्यालय र रक्षा मन्त्रालयमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array