प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता: टीआरसीमा सहमति जुट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको अवसरमा मंगलबार साँझ बालुवाटारमा तीन शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भएको भेटवार्तामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी)बारे सहमति भएको स्रोतले दाबी गरेको छ । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ। विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो । ‘शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाको बाँकी कामहरू टुंगोमा पुर्‍याउनेबारे उहाँहरूबीच सहमति जुटेको,’ स्रोतको दाबी छ ।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न पनि सहमति जुटेको छ। ‘संघीयता, गणतन्त्र र शान्ति समझौतको मर्म अनुसार आयोग गठन गर्ने र आवश्यक परेको एकीकृत रुपमा अघि बढ्ने सहमति भएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो ।

संसद्‌को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक यसै अधिवेशनमा संसद्‌मा पेस गरेर पारित गर्ने तयारी भइरहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका काम टुंगोमा पु¥याउन अन्तर्राष्ट्रिय सहयोग रहने बताएका थिए । महासचिव गुटेरेसले टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका थिए । त्यसमा असन्तुष्ट एमाले बालुवाटारमा भएको मंगलबारको भेटपछि सहमत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array