सरकारको भ्रष्टाचार विरोधी अभियानबाट जाली फटाहाहरु आत्तिएका छन्ः प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलोचोटी भ्रष्टाचार विरोधी अभियान सुरु गरेको बताएका छन् । सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानका कारण जाली फटाहाहरु, हिजोका समान्त शोषकहरु, दलाल र नोकरशाहहरु निकै आत्तिएको उनले बताए ।

आज (आईतबार) रुकुम पूर्वको मैकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी अभियानबाट आत्तिएका जाली, फटाहाहरुले सरकार र गठबन्धनको नाममा भ्रम छर्दै हिँडेको बताए । अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्मै कायम रहने र सरकारको भ्रष्टाचार विरोधी अभियानले पनि निरन्तरता पाउने उनले बताए ।

‘मेरो नेतृत्वको सरकारले पहिलो चोटी नेपालको इतिहासमा सुरु गरेको अभियान हो । यो अभियानबाट जाली फटाहाहरु, हिजोका समान्त शोषकहरु, दलालहरु, नोकरशाहहरु निकै आत्तिएका छन्, छट्पट्टिएका छन् ।’ उनले भने, ‘सरकारका बारेमा, गठबन्धनका बारेमा विभिन्न खाल्का भ्रम सिर्जना गर्ने षड्यन्त्र पनि गरेका छन् । तर, तिनको केही लाग्नेवाला छैन । यो गठबन्धन पूरै पाँच वर्ष जानेवाला छ र यो अभियान पनि निरन्तर अगाडि बढ्नेवाला छ ।’

नेपाल विश्वसामु भ्रष्टाचारका कारण बदनाम भइरहेको अवस्थामा आफूले उक्त अभियान चलाएको उनले बताए । सरकारको उक्त अभियानका कारण भ्रष्टाचारमा संलग्न पूर्वमन्त्रीहरु, कर्मचारीहरु जेलमा पुगेको उनले बताए । भूमाफियाहरुका विरुद्ध पनि सरकारले निरन्तर आफ्नो काम अगाडि बढाइरहेको उनको भनाई छ ।

साथै, भ्रष्टाचार विरोधी अभियानको पक्षमा जनमत सिर्जना गर्न आ–आफ्नो ठाउँबाट आवाज उठाउन पनि उनले अनुरोध गरे । आफू प्रधानमन्त्री भएर भारत, चीन, अमेरिका, इटाली लगायतका देशको भ्रमण गरेर नेपाल राष्ट्र र नेपाली जनताको हितमा वकालत गरेको उनले बताए ।

नेपालीले जलवायु परिवर्त रोक्नका लागि गरेको प्रयासबाट उपहार पाउनुको सट्टा नेपालीहरुले धनी देशबाट पीडामात्रै पाएको उनले बताए । युएईमा जलवायु परिवर्तन सम्बन्धी हुने सम्मेलनमा नेपालको अधिकार स्थापित गर्ने गरी वहस छेड्ने उनले बताए । उक्त कार्यक्रमका लागि नेपालले आक्रामक दस्तावेज तयार पार्न लागिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array