माओवादीसँग मिसिनको लागि पार्टी फुटाउने तयारीमा मन्त्री महेन्द्र राय यादव !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – नेपाल समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्षद्धय बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच माओवादीसँग एकताबारे मत बाझिएपछि पार्टी फुटको संघारमा पुगेको हो ।

अध्यक्ष भट्टराईले हिजो (शुक्रबार) साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर पार्टी एकता नगर्ने आफ्नो अडान सुनाएका थिए । तर, अर्का अध्यक्ष यादव भने कुनैपनि हालतमा माओवादीसँग एकता गरिहाल्ने मुडमा छन् ।

बाबुराम निजी भ्रमणमा भारतको नयाँ दिल्लीमा रहेको बेलामा माओवादीले अर्का अध्यक्ष यादवलाई पत्र लेखेर पार्टी एकताको लागि आह्वान गरेको थियो । उक्त प्रकरणलाई लिएर बाबुराम प्रचण्डसँग रुष्ट छन् । उनले आफू देशबाहिर रहेको अवस्थामा प्रचण्डले खेल्न खोजेको गुनासो पोख्ने गरेका छन् ।

बाबुरामले कम्युनिष्ट नाम राखेर माओवादीसँग एकता गर्न नसकिने अडान लिएका छन् । बाबुरामको दलबाट गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष यादवमात्रै निर्वाचित भएका थिए । तर, उनी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका हुन् ।

यादव कुनैपनि हालतमा प्रचण्डसँग एकता गरेर अघि बढ्ने तयारीमा छन् । त्यसको लागि उनले आज/भोलिभित्रै आफूनिकटहरुको भेला बोलाउने र एउटा बोल्ड निर्णय लिन लागेको बुझिएको छ ।

यादव अहिले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको क्याविनेटमा खानेपानी मन्त्रीको जिम्मेवारीमा छन् । माओवादी केन्द्रका नेताहरुले भने पहिलो चरणमा महिन्द्र राय यादवसँग वार्ता गरिसकेको र अब छिट्टै पार्टी एकताको लागि निर्णय लिईने जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने माओवादी धारलाई एकताबद्ध गर्ने घोषणा गरिसकेका छन् । अहिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग प्रचण्डले एकता गर्नेगरि वार्ता तथा छलफल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array