डेढ वर्षभित्र पूर्वराजा ज्ञानेन्द्र शासन-सत्तामा फर्कने योग, प्रचण्ड अढाइ महिनाभन्दा बढी सत्तामा नटिक्ने: ज्योतिषी न्यौपाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०८०, बुधबार
3 Min Read
Aa
Former King Gyanendra Shah speaking at a press conference before leaving the Narayanhiti Palace, 14 days after the nation was declared Republic, on June 11, 2008. Photo: THT/ File

काठमाडौं – प्रख्यात ज्योतिषी अंगिरस न्यौपानेले अबको डेढ वर्षभित्र पूर्वराजा ज्ञानेन्द्र शाह शासन-सत्तामा फर्कने भविष्यवाणी गरेका छन् ।
‘पूर्वराजा ज्ञानेन्द्रमा राजसी तेज अहिले पनि देखिन्छ । राजतन्त्र हटेपछि ज्ञानेन्द्रले मलाई नारायणहिटीमा बोलाएका थिए । त्यतिबेला मैले सरकारको बाल्यकाल, प्रौढकाल र वृद्धकालमा राजा हुने योग छ भनेको थिएँ । त्यसकारण डेढ वर्षभित्रै राजा फर्कने सम्भावना देखिन्छ । अरुले मात्र गरेर राजा आउने कुरा ढिलो हुन्छ । राजा चुप लागेर बसेनन् र आफैं निस्के भने चाँडो हुन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।

दलका शीर्ष नेताहरूभन्दा पूर्वराजा ज्ञानेन्द्र शाह नै लोकप्रिय रहेको न्यौपानेको दाबी छ । उनले भने, ‘देशको राजनीतिक परिस्थिति बिलकुल राम्रो छैन । सबै दलहरुले राजा हटेपछि देशलाई स्वर्ग बनाउँछौं भनेका थिए । पहिलेको भन्दा पनि नराम्रो अवस्था बनाए । मिलिजुली खाने काम मात्र गरे । त्यसले जनतामा चरम वितृष्णा छ । राजाले एक्लै जाँदा पनि जनताको स्वागत पाउँछन् । नेताहरु स्वागत पाउनु त कता हो कता, एक्लै जान पनि सक्दैनन् ।’

ज्योतिषी न्यौपानेले राम्रो नेतृत्व पाए जनता विकल्पको पछि लाग्ने अवस्था रहेको बताए । उनले थपे, ‘प्रजातन्त्र त ठीक हो । नेतृत्व चाहिं ठीक भएन । राजतन्त्र त हटाए । तर शासनसत्ता पाउनेले आफैंलाई राजा सम्झे । उनीहरुले अवस्था परिवर्तन गर्ने कुरामा जनतालाई विश्वास छैन । यिनलाई राजा बनाउन गणतन्त्र आएको होइन । कोही राम्रो नेतृत्व आयो भने जनता त्यसको पछि लाग्ने सम्भावना हुन्छ ।’ राजेन्द्र लिङ्देनजस्ता जनजाति नेताले त्यसको नेतृत्व गर्न सक्ने उनले औंल्याए । न्यौपानेले भने, ‘कमल थापाले राजतन्त्रको नाममा आफ्नो फाइदा लिने काम मात्र गरे । राजेन्द्र लिङ्देन जस्ता दुई-चार जना नेता अघि बढे भने ठीक छ अहिलेको सरकारलाई मस्किलको अवस्था आउँछ । साथै उनले दुर्गा प्रसाईमा पनि मान्छे जम्मा गर्न सक्ने खुबी रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल एक अढाइ महिनाभन्दा बढी सत्तामा नटिक्ने पनि न्यौपानेको भविष्यवाणी छ । उनले भने, प्रचण्ड सरकार वर्षदिन पनि नजाने हो । नौ महिनादेखि नै अप्ठ्यारो स्थिति आएर नेतृत्व छाड्ने योग थियो । तर उनीसँग लाज सरम घिन केही नभएकाले छाडेनन् । अब उनको सरकारको आयु एक अढाइ महिना मात्र हो ।

प्रचण्डपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रबल सम्भावना उनले औंल्याए । न्यौपानेले भने, ‘केपी ओलीको कांग्रेससँग त्यति राम्रो सम्बन्ध छैन । बरु शेरबहादुर देउवाकै योग छ । उनले अस्ति नै पाउनुपर्ने थियो । प्रचण्डले उछिट्टाए । म माधव नेपालको सम्भावना देख्दिनँ । प्रचण्डपछि देउवा नै हो । नचाहेर पनि नेतृत्व पाउने देउवा नै हो ।’

साथै उनले आउने चार वर्ष संसद् नचल्ने भएकाले शेखर कोइराला र गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको ठोकुवा गरे । न्यौपानेले भने, ‘शेखरको सम्भावना छैन । गगनको पनि सम्भावना छैन । तर पछि हुन सक्छ । यो संसद्ले कार्यकाल पूरा गर्दैन । चुनावको घोषणा हुने या संविधान परिवर्तन हुने योग छ ।’

प्रतिक्रिया दिनुहोस्

Array