गगन थापाको प्रश्न: टिकटक बन्द गर्न कांग्रेससँग कहिले र कहाँ सहमति भयो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८०, मंगलवार
3 Min Read
Aa

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्न कांग्रेससँग कहिले र कहाँ सहमति भयो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको’ अभिव्यक्ति दिएपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?’

उनले फेसबूकमा लेखेका छन्, ‘प्रधानमन्त्रीले भन्नुभएछ – सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो । प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?’

पूर्व प्रधानमन्त्रीहरूले बन्द कोठामा बसेर गरेको सम्झौतालाई पार्टीबीच भएको सहमति नठान्न उनले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । ‘प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस् । यो तपाईंहरू बीचको समझदारी हो, पार्टीहरू बीचको होइन । पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ,’ उनले लेखेका छन्, ‘अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौं, पार्टीले बोक्न सक्दैन ।’

महामन्त्री थापाले सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने नहुने स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘कति साथीहरूले सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ भन्ने कुरा उठाउनु भएको छ । त्यसको उत्तर हो, मिल्छ । गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ । हिजो पनि गलतलाई गलत भनेका हौं, आज पनि र भोलि पनि भन्छौं । सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन । बरु सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्तापक्ष भनेर मौन बस्नु चाहिँ गलत हो । जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ ? हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले–जहिले अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौं, उभिइरहने छौं । हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन ।’

महामन्त्री थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array