भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – सरकारले कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने भएको छ। आइतबार गृह मन्त्रालयमा बसेको विपद् न्यूनिकरण समितिको बैठकले प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले रकम दिने निर्णय गरेको हो। यो रकम दुई किस्तामा दिइन्छ।

साथै बझाङ केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि पनि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको उपप्रधान एवम् गृहमन्त्रीस्तरीय निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो।

गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन गरेको छ। साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा समेत तोकेको छ।

भुकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनर्स्थापना योजना बनाउन बिस्तृत क्षति आंकलन-मुल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array