मुगु सामूहिक हत्याकाण्डमा आफन्तनै संलग्न, दुई आरोपित सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – गत कार्तिक ८ गते मुगुमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

- Advertisement -
Ad imageAd image

उनीहरूलाई आज शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो । शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट आज शुक्रबारै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए ।मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए। तर, दीपकले उनको कुरा अस्वीकार गरेपछि रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। गोपाल नाताले श्रीदेवीका मामाका छोरासमेत हुन् । भने गोर्खराज श्रीदेवीको नातामा काका पर्छन ।

हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटी मृतकसँग १० १२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए । ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए।उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए।

कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो। उनका श्रीमान दीपक भने रोजगारीको सिलसिलामा कतारमा रहेका थिए । घटनापछि उनी नेपाल फर्किएका छन् । हाल उनको अवस्था अत्यन्तै विक्षिप्त रहेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए।कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्