एमालेलाई सरकारमा स्वागत गर्न सदैव तयार छु, मन्त्री बन्न दौरा सुरुवाल सिलाउँदै गर्नु: मुख्यमन्त्री कार्की

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमति र सकार्यको विकल्प नभएको भन्दै सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले अहिलेको विषम परिस्थितिमा प्रदेश सभाको अस्तीत्व जोगाउने मुख्य चूनौती रहेको भन्दै सबै दलहरु मिल्नुको विकल्प नरहेको बताए ।

प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद वुद्धिकुमार राजभण्डारीले एमालेलाई मुख्यमन्त्रीले ढोका दिएको भन्ने आरोपको खण्डन गर्दै कार्कीले आफू एमालेको बटमलाईन अनुसार नै अगाडी बढिरहेको दाबी गरे ।

‘प्रदेशलाइ स्थायित्व दिनेकुरामा हाम्रो र एमालेकोबीचमा कुनैपनि मत भिन्नता छैन् । तपाईहरुकै सहयोगका कारण मुख्यमन्त्री बनेको हुँ । त्यो गुण मैले भूलेको छैन् । खोला तरेर लौरो बिर्सिएको कदापी हैन’ मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्री कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको सहमतिको सरकारको एजेण्डा अनुसार आफू अघि बढेको भन्दै एमालेलाई सरकारमा सामेल हुन आग्रहसमेत गरे ।

उनले एमाले नेताहरुलाई मन्त्री बन्न दौरा सुरुवाल सिलाएर तयारी अवस्थामा रहन आग्रह गर्दै भने‘ मेरो नेतृत्वको सरकारले एमालेलाई भेदभाव गर्ने प्रश्न नै आउँदैन । त्यसकारणले गर्दा कुनैपनि वेमेलको भावना नराखिकन दलहरुबीचको एकताले नै प्रदेशको समृद्धि हासिँल गर्न सकिने कुरामा दुईमत छैन । यो एजेण्डा एमालेको पनि हो । उक्त एजेण्डालाई मुर्तरुप दिन एमालेलाई सरकारमा आउन सदैव बाटो खुल्ला छ । एमालेलाई छोडेर म अगाडि बढ्न खोजेको होईन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार यो सरकार सबै दल र सांसदको समर्थनको सरकार हो । तत्कालीन मुख्यमन्त्री ज्यूले राखेकै एजेण्डा स्थापीत गर्न यो सरकार बनेको हो । तपाईंहरुलाई सरकारमा आउन स्वागत छ । म स्वागत गर्न तयार छु । तपाईहरु दौंरा सुरुवाल लगाउन कत्तिको तयार हुनुहुन्छ ? म माननीय ज्यूहरुलाई दौरा सुरुवाल सिलाएर तयार रहन आग्रह गर्दछु ’।

कार्की गत सओज २५ गते एमालेको समर्थनमा कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पार्टीबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि उनले एमालेका राम राना र कांग्रेसका शमसेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

केन्द्रीय सत्ता समिकरण विपरित सरकार बनाएपछि नेतृत्वको तीव्र दवावमा परेका कार्कीले गत शुक्रबार माओवादी केन्द्र र नेकपा एसलाई सरकारमा सामेल गराएका थिए । उनले शुक्रबार माओवादीको सुशील उप्रेती (गणेश) र नेकपा एसका कमल जवेगूलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीले आफूहरुको सहमति विपरित सरकार विस्तार गरेको भन्दै रुष्ट बनेको एमालेले शनिबार सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो । भने आइतबार बसेको प्रदेश संसदीय दलको बैठकबाट सरकराबाट बाहिरिएर प्रतिपक्षीमा बस्ने तर समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array