विश्वकपमा पुगेको नेपाली टीमका खेलाडीलाई १३/१३ लाख पुरस्कार दिन सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई १३/१३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारलाई सिफारिस गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक तथा सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले खेलाडी र कोचिङ स्टाफलाई नगद पुरस्कार प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । घरेलु मैदानमा आईतबार सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया फाइनलको शीर्ष २ मा रहँदै नेपालले १ दशकपछि टी–२० विश्वकपमा स्थान बनाएको छ ।

टी–२० विश्वकप २०२४ जुनमा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुनेछ । टी–२० विश्वकपमा छनोट भएका १५ खेलाडीलाई १३/१३ लाख, मुख्य प्रशिक्षकलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई समान १ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार दिन सिफारिस गरिएको सदस्य सचिव घिसिङले जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले पनि टी–२० विश्वकपमा छनोट भएको टोलीलाई नगद ५० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array