दुर्गम क्षेत्रका र गरिब भूकम्प पीडितलाई राहतमा पहिलो प्राथमिकताः प्रधानमन्त्री प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैभन्दा दुर्गम र गरिब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् । भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको टोलीसँग उनले आफूले पीडितहरुलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन सरोकारवालालाई निर्देशन दिइसकेको बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई उर्जा मिलेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

उनले रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको समेत बताए । ‘अहिले तपाईहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको महसुश भएको छ,’– उनले भने । प्रधानमन्त्री प्रचण्डले पीडितसमक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको बताए ।

‘विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरुको राहत र उद्दारमा लाग्ने छौं,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पीडितहरुको राहत र पुनस्र्थापनालाई मोडेलको रुपमा अगाडि बढाउनेमा आफूहरु रहेको पनि बताए । उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोलप्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरे । त्यसैगरि अर्यालले ६ बुँदे सुझावहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनर््स्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस्

Array