भूकम्प पीडितलाई राहत लिएर भारतीय विशेष विमान नेपालगन्जमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

काठमाण्डौ – दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ११ टन राहत सामग्री पठाएको छ। नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबार अपरान्ह अवतरण भएको हो।

भारतीय राजदूतले नवीन श्रीवास्तवले ती ११ टन राहत सामग्री नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालगञ्ज विमानस्थलमा हस्तान्तरण गरे। भारतीय वायसेनाको विशेष विमान सी-१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर नेपालगञ्ज आएको हो।

यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावितहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि छन्। राजदूत श्रीवास्तवका अनुसार राहतको पहिलो खेपमा आइतबार टेन्ट, स्लिपिङ ब्याग, स्लिपिङ म्याट्स, कम्बल र ब्ल्याङ्केट तथा औषधिको खेप आएको हो।

ती राहत सामग्री नेपाल मेडिकल एसोसियसनको आग्रहमा भारतीय राजधानी नयाँ दिल्लीबाट पठाइएको श्रीवास्तवले बताए।  सोमबार पनि त्यही परिणामको राहत सामग्री बोकेर अर्को जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने छ।

सोमबार पनि टेन्ट, स्लिपिङ ब्याग र म्याटसहितको राहत सामग्री आउने उनले जानकारी दिएका छन्। भारतीय दूतावासका अनुसार पहिलो खेपमा भारतीय रुपैयाँ १० करोड बराबरको आपतकालीन राहत सामग्री आएको हो।

 

 

आगामी दिनमा राहत सामग्रीका थप खेपहरु नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

भारतले २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न सबैभन्दा सुरुमा तत्परता देखाएको जनाएको छ। भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साका रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो। जसबाट गोरखा र नुवाकोटका ५० हजार घरको पुनर्निर्माण भएको थियो।
 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array