जाजरकोट र रुकुममा गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १२८ पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटकाअनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको हो । गोरक्षपोस्टलाई प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ भने अहिलेसम्म घाइते हुनेहरूको सङ्ख्या क्रमश: ५५ र ८५ गरी १४० छ । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।

रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array