जाजरकोटमा ६.४ रेक्टरको भूकम्प: नलगाड नगरपालिकाका उपप्रमुख सहित कम्तिमा ५० जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ – शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन्।

भुइँचालोले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ। अहिलेसम्म दुई जिल्लामा गरेर कम्तिमा ५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौँसहित देशैभरजसो महसुश गरिएको थियो। भूकम्पपछि धेरै सडकमा सुख्खा पहिरोले बाटो अवररुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मा मात्रै कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भूकम्पले धेरै संरचना ध्वस्त बनाएको बताए।

प्रतिक्रिया दिनुहोस्

Array