मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०८०, मंगलवार
3 Min Read
Aa

 

काठमाण्डौ – कुशल मल्लको आक्रामक ब्याटिङमा नेपालले आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार भएको समुह ए को आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो।

- Advertisement -
Ad imageAd image

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् भने मलेसिया र सिंगापुर बाहिरिएका छन्। मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य घरेलु टोलीले १२ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि कुशल मल्ल र आशिफ शेखले ६७ रनको साझेदारी गरे। मल्ल १७ औं ओभरको पाचौं बलमा मुहम्मद अमिरको बलमा क्याच आउट भए। ३४ बलको सामना गरेका कुशलले २ चौका र ७ छक्का हाने। सुदिप जोरा १८ र विवेक यादव २ रनमा नटआउट रहे।

ओपनर कुशल भुर्तेलले ४३ रन बनाउँदा क्याच आउट भए। २५ बलको सामना गरेका कुशलले ४ चौका र ४ छक्का प्रहार गरे। आशिफ शेख ३२ रनमा क्याच आउट नै भए। २३ बलमा १ चौका र २ छक्का हानेका आशिफ मुहम्मद अमिरको बलमा क्याच आउट भए।

कप्तान रोहित पौडेल २ रन बनाउँदा क्याच आउट नै भए। मलेसियाका लागि मुहम्मद अमिरले तिन तथा पवनदिप सिंहले १ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको छ।

मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए। ४९ बलको सामना गरेका अजिजले ८ चौका र २ छक्का प्रहार गरे। १५ औं ओभरको चौथो बलमा गुलसन झाको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

जुवैदी जुलकिफ्ली २४ रन बनाउदा अविनास बोहोराको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। सरविन मुनियान्डी १३ रनमा क्याच आउट भए।

पहिलो विकेटका लागि साइद अजिज र जुवैदी जुलफीक्रीले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। विजय उन्नी १३ रनमा नटआउट रहे।

मलेसियाका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। नेपालका लागि अविनास बोहोरा एक्लैले चार विकेट लिए। अविनासले आफ्नो स्पेलमा २७ रन खर्चे।

सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे। समूह चरणको अन्तिम खेलमा नेपालले बिहिबार ओमानसँग खेल्ने तालिका छ।

खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा नै हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्