कोशी प्रदेशमा किचलो कायमै: मुख्यमन्त्री र एमालेबीच मिलेन कुरा, ‘फाइनल मिटिङ’ मंगलबार हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं – कोशी प्रदेश सरकार विस्तारबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको छ ।

सोमबार मुख्यमन्त्री केदार कार्की, नेकपा एमालेका प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीसहित विना विभागीय मन्त्रिहरु राम राना र शमसेर राईसहितको छलफल निष्कर्षवीहिन बनेको हो । छलफलमा सहभागी एक नेताका अनुसार आजको बैठकमा मुख्यमन्त्री कार्कीलाई एमालेले पूर्व सहमति अनुसार तत्काल मन्त्रिपरिषद विस्तार गर्न आग्रह गरेका थिए । एमालेको आग्रहमा मुख्यमन्त्री कार्कीले केन्द्रीय नेतृत्वले दबाब दिएको भन्दै एमालेले त्यसलाई बुझिदिनुपर्ने आसय व्यक्त गरेका थिए ।

गत असोज २६ गते एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । तर, पछि प्रदेश सभाबाट विश्वासको मत लिनेबेलामा उनलाई ६ सिट रहेको राप्रपाबाहेक सबै दलले विश्वासको मत लिएका थिए ।

केन्द्रीय गठबन्धनको निर्णयको विपरित मुख्यमन्त्री बनेपनि कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन प्रधानमन्त्रीसहितका सत्ता गठबन्धनका दलले उनलाई केन्द्रीय गठबन्धनकै मुख्यमन्त्रीमा बदलेका थिए । तर, एमालेले भने आफ्नो कारण मुख्यमन्त्री बन्न सफल भएको भन्दै कार्कीमाथि दबाब बढाउँदै लगेको छ । दसैं अघिनै सरकार विस्तार गर्न एमालेले दबाब दिएपछि कार्की विराटनगर छाडेर धेरैजसो काठमाडौंमा नै रहने गरेका छन् ।

आजको छलफल सकारात्मक भएको र मन्त्रिमण्डल विस्तार गरेपछि मात्रै बजेट पास गर्ने सहमति भएको बताईएको छ । प्रदेशससभाबाट राप्रपाबाहेक सबै दलबाट विश्वासको मत पाएका कार्कीले सरकार विस्तारमा एमालेलाई सामेल गराउने कि गठबन्धनलाई भन्ने निर्णय अझै सार्वजनिक गरिसकेका छैनन् । एमालेले भने कार्की नेतृत्वको प्रदेश सरकारमा आफू र कांग्रेसका सांसद मात्रै सहभागी हुनुपर्ने अडान राख्दै आएको छ । हाल प्रदेश सरकारमा एमालेकातर्फबाट इलामका राम रानामगर विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

सोमबार निष्कर्षवीहिन बनेको छलफल टुंगोमा पुर्याउन मंगलबार थप छलफल हुने भएको छ । मंगलबार थप छलफल गरेर यसै साताभित्रमा सरकारलाई पूर्णता दिएर बजेट पास गराउने कार्कीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array