विश्वकप छनोट: अञ्जनको गोलमा नेपाल र लाओस बराबर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टको गोलमा फिफा विश्वकप २०२६ को एसिया क्षेत्र छनोटको पहिलो चरणको खेलमा घरेलु टोली नेपाल हारबाट जोगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको नेपाल र लाओसले १–१ को बराबरी गरे। अञ्जनले राष्ट्रिय टोलीका लागि कीर्तिमान बराबर गर्ने क्रममा नेपाललाई हारबाट जोगाएका हुन्। पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि खेलको ४९ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय टोलीका लागि ६० क्याप पूरा गर्ने क्रममा अञ्जनले १३ गोलको कीर्तिमान बराबर गरे। यसअघि राष्ट्रिय टोलीका लागि पुर्व कप्तान हरी खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका थिए।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरेको नेपालले लाओसलाई दबाबमा राखेको थियो। ८२ औं मिनेटमा अञ्जनको प्रहार लाओसका गोलरक्षकले रोक्दा कीर्तिमान बनाउनबाट चुक्न पुगे। त्यसअघि खेलको ३३ औं मिनेटमा कप्तान वोउचन वोउङकोङकोको गोलमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो।

मैदानको मध्यभागबाट आयुष घलानको पास मनिष डाँगीले लिन नसक्दा लाओसका चोनी वेपासेर्टले कप्तानलाई दिएको पासमा नेपाल डिफेन्डरद्धय अनन्त तामाङ र रोहित चन्दलाई विट गर्दै गोलको पोष्टको जाली चुमेको थियो।

खेलको १३ औं मिनेटमा लाकेन लिम्बुको प्रहार क्रसबारको माथिबाट बाहिरियो। खेलको १७ औं मिनेटमा कप्तान तथा फरवार्ड वोउचन वोउङकोङको प्रहार गोलरक्षक किरण कुमार लिम्बुले सहजै बचाए।

खेलको इन्ज्युरी समयमा लाओसका प्रशिक्षक कनलाया स्योमभाङले सिधै रातो कार्ड पाए। नेपालका डिफेन्डर अनन्तलाई लाओसका खेलाडीले फउल गरेपछि प्रशिक्षक मैदानमा छिरेका थिए।

नेपालले विश्वकप छनोटको एसिया क्षेत्र छनोट अन्तर्गत दोस्रो लेगमा लाओसको घरेलु मैदानमा असोज ३० गते खेल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्