प्रधानमन्त्री प्रचण्ड र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, कोशी सरकारमा सहकार्य गर्नेबारे छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताको क्रममाा प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनका लागि सहकार्य गर्न लिङ्देनसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

मध्यावधिको डिलमा रहेको कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेशसभामा रहेका जुनसुकै सदस्यले बहुमत ४७ सदस्य पुर्‍याएर मुख्यमन्त्रीको दाबी गर्न पेस गर्न सक्नेछन्। प्रदेश प्रमुख खापुङले असोज २६ गते ५ बजेभित्रमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहालले अध्यक्ष लिङ्देनसँग सहकार्यको हात अघि बढाउन आग्रह गरेका हुन् । भेटवार्तामा सत्ता सहकार्यको बारेमा छलफल भएपनि अध्यक्ष लिङ्देनले भने वचन नदिएको स्रोतले बताएको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ। एमालेका उपसभामुखबाहेक ३९ र एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ जना प्रदेशसभा सदस्य छन्। त्यसो हुँदा एमाले-राप्रपा गठबन्धन बन्दासमेत प्रदेशसभा सदस्यको संख्या ४५ मात्रै पुग्ने थियो।

गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग १३, नेकपा एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग १ जना प्रदेशसभा सदस्य छन्। गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य पुग्छन्। ज्येष्ठ सदस्य गठबन्धनकै रहेकाले विश्वासको मत लिँदा पहिलेकै अवस्था आउने देखिन्छ। राप्रपाका ६ सदस्य जोड्दा ५३ प्रदेश सदस्य पुग्नेछन्। यो गठबन्धनका लागि स्पष्ट बहुमत पनि हो। प्रधानमन्त्री दाहालले यसै कारण पनि अध्यक्ष लिङ्देनसँग सहकार्यका लागि आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

Array