शेखर र गगनको सम्बन्ध चिसियो, अर्को समिकरण बनाउने तयारीमा गगन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ आश्विन २०८०, शुक्रबार
4 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध एकजुट भएर मैदानमा खडा भएका डा. शेखर कोइराला र गगन कुमार थापाको समूह यतिवेला तितरवितर भएको छ । १५औं महाधिवेशनमा नेताहरुबीच नेतृत्वको दौड अहिलेदेखि नै सुरू भएपछि यो समूहमा फाटो आएको हो ।

खासगरी कोइरालाले गगनले महत्वकांक्षा पालेको निश्कर्ष निकालेका छन् । अहिले यो समूहमा फाटो आएको गाईँगुईँ चल्न थालेको छ । १४औं महाधिवेशनमा गगन कोईराला समूहबाटै महामन्त्रीमा निर्वाचित भएका हुन् । कोइराला भने सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

शेखर–गगन समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा देउवाको प्यानलबाट पराजित प्रदीप पौडेललाई पनि समावेश गराउन यो समूहका दोस्रो तहका नेताहरुको सक्रियता जारी नै छ । तर, हालै शेखरले बोलाएको बालुवाटारको आफूपक्षीय भेलामा भने शर्मा अनुपस्थित् भए । गगन भने पुगेका थिए । त्यसको दुई साता नबित्दै नुवाकोट जिल्ला कार्यसमितिले बोलाएको अर्को महत्वपूर्ण भेलामा भने शेखर नै गएनन् ।

गगनका ससुरासमेत रहेका पूराना नेता अर्जुननरसिंह केसीले शेखर र गगनलाई मिलाउन कसरत गरिरहेका छन् । तर, १५औं महाधिवेशनमा दुवै नेता शेखर र गगनको आँखा सभापतिमा परिसकेकोले अहिले उनीहरु आफू बलियो हुने रणनीतिमा र एकले अर्कोलाई गलाउने कसरतमा व्यस्त छन् । हालै नेपाली कांग्रेसले आयोजना गरेको वीपी साहित्य महोत्सवमा कोइराला परिवारका तीनै जना नेताहरु शेखर, शशांक र सुजातालाई एकै मञ्चमा राखेर विचार–विमर्शसमेत भएको थियो ।

सो कार्यक्रममा तीनै जना नेताहरुले आगामी १५औं महाधिवेशनमा आफूहरु एक ठाउँमा उभिने र आफूहरुमध्ये एक जनाले सहमतिमै सभापतिमा उम्मेद्वारी दिने विश्वास दिलाएका थिए । तर, शशांकले भने अहिले सभापति देउवासँग सहकार्य सुरु गरेका छन् । देउवा र शशांकलाई मिलाउनको लागि पनि दोस्रो तहका नेताहरु सक्रिय छन् ।

खासगरी उनीहरुलाई मिलाउनको लागि सांसदसमेत रहेका संखुवासभाका नेता दीपक खड्काले भूमिका खेलेका छन् । १५औं महाधिवेशन आउँदा नआउँदै शेखर र गगनको समूह विभाजन हुने र गगनले अर्को समूह खडा गर्नेबारे अहिलेदेखि नै हल्ला चलेको छ । कतिपयले अहिलेका उपसभापति एवम् वर्तमान सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र गगन थापाले नयाँ समिकरण बनाउनेगरि गृहकार्य थालेकोसमेत दाबी गरेका छन् ।

देउवाले भने आगामी महाधिवेशनमा आफू नेतृत्वको दौडमा नरहेको कुरा सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । बरु, उनले आफ्नी पत्नी डा. आरजु राणालाई नेतृत्वमा स्थापित गराउनेगरि कदम चाल्न थालेका छन् । उनले सभापतिमा शशांकलाई सघाउने र महामन्त्रीमा श्रीमती आरजुलाई अघि बढाउनेगरि तयारी थालेको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ । त्यस्तोमा उपसभापति खड्काले गगनलाई साथमा लिएर नयाँ समिकरण बनाउन लागेको अहिलेदेखि नै चर्चा सुरु भएको छ ।

पछिल्लो समय देउवालाई साथ दिएका र भावी दिनमा नेतृत्वमा स्थापित हुनसक्ने नेताहरु नै देउवासँग टाढिएका छन् । खासगरी देउवाका विश्वासपात्र बालकृष्ण खाँण यतिवेला देउवासँग रुष्ट छन् । आफूलाई कांग्रेस सम्मिलित सरकारले नै नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाएको भनेर खाँणले गुनासो पोख्ने गरेका छन् ।

देउवाले खाँणप्रति कुनै सहानुभूति नै नराखेको पनि चर्चा छ । बरु, यो बीचमा खाँणलाई भेट्न शेखर कोइराला, शशांकहरु जेलमा पुगेका समाचार बाहिरिएका छन् । खाँणले समेत शेखरलाई साथ दिने देखिएपछि देउवाले शशांकलाई साथमा लिन खोजेका छन् ।

उता, शेखरले गगनले १५औं महाधिवेशनमा आफूलाई नेतृत्वमा नसघाउने संकेत पाएपछि अर्को समिकरण बनाउन अहिलेदेखि नै कसरत थालेका छन् । शेखरले १५औं महाधिवेशनमा आफूलाई सघाउने शर्तमा गगनलाई ०७९ को आम निर्वाचनपछि संसदीय दलको नेतामा अघि सारेर सहयोग गरेका थिए । तर, थापा सभापति देउवासँग नराम्रोसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array