एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथ प्यानलसहित भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको चुनावी प्रक्रिया बिहीबार सुरु हुने भएको छ । निर्वाचन समितिका उम्मेदवारी फिर्ताको समयावधि नै बिहीबार बिहानसम्मको लागि तय गरिएको हो ।

उम्मेदवारी फिर्तापछि बिहीवार दिउसो चुनावी प्रक्रिया सुरु हुने जनाइएको छ । जसअनुसार गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुवै प्यानलसहित नै मैदानमा उत्रिएका छन्। शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ।

अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी रहेका छन्। शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्का उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दिएका छन्।

लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीरबहादुर बिकले उम्मेदवारी दिएका छन्।

अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने चुनावमा प्यानल नबनाउन निर्देशन दिएका छन् । तर, केन्द्रको निर्देशन विपरित उनीहरु प्यानलसहित चुनावमा होमिएका हुन् । चुनावमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Array