झलनाथ एमालेतिर नजिकिँदा एकीकृत समाजवादीमा माधव नेपाल अल्पमतमा !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०८०, शनिबार
4 Min Read
Aa

काठमाण्डौ – नेकपा एकीकृत समाजवादी भित्रको अन्तरविरोध उत्कर्षमा पुगेको छ । एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका माधव नेपाल पार्टीभित्रै अल्पमतमा पर्ने जोखिममा छन् । २ वर्षअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बलमा एमालेबाट अलग भएका माधव अझैपनि एक्लै अगाडी बढ्ने हिम्मत गर्न सकेका छैनन् ।

जबकी माधवसँग एमालेबाट बाहिरिएका नेता झलनाथ खनाललाई कांग्रेससँगको सहकार्य घाँटीसम्म आइसकेको छ । पटक पटक उनले गठबन्धनबाट बाहिरनुपर्ने आवाज राखेका पनि छन् । तर अध्यक्ष नेपालको मन बदल्न नसक्दा अब विद्रोहकै बाटो खनाललाई ठिक लागेको छ ।

उनले सार्वजनीक मञ्चदेखि पार्टीभित्रै सकेसम्म नेपाललाई सच्याउने, नसके उनको विकल्प खोज्नेसम्मको तयारी गरिसकेका छन् । खनालको कदमसँग भलिभाति जानकार भएका नेपाल पनि अब चुप लागेर बस्ने मनस्थितीमा छैनन् । मुठ्ठी कसेरै भएपनि पार्टी आफ्नो पकडमै राख्ने चलखेल नेपालले सुरु गरिसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनमै गठबन्धनमा रहेर चुनाव लड्दा समेत नराम्ररी पराजित भएपति लगत्तै नेता खनालले गठबन्धन आफ्नो पार्टीलाई नफापेको र यसको विकल्प खोज्नुपर्ने बताएका थिए ।

अध्यक्ष नेपाल तयार नभएपछि पार्टीले संघिय निर्वाचन समेत सोहि गठबन्धनमै रहेर सम्पन्न गर्यो । निर्वाचनमा एकिकृत समाजवादी राष्टिय दलसमेत बन्न सकेन, खनाल स्वयं एमाले उम्मेदवारसँग पराजित भए ।

त्यसयता उनले निरन्तर गठबन्धनको विपक्षमा बोल्दै आएका छन् । निर्वाचन परिणाममात्र होइन, यसअघि देउवा नेतृत्वको तथा हाल प्रचण्डले नेतृत्व गरिरहेको सरकारले समेत जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै समाजवादको बाटोमा अगाडी बढ्नका लागि कुनैपनि हालतमा गठबन्धनबाट अलग्गीनुपर्ने निश्कर्षमा खनाल पुगेका छन् ।

सल्लाहले नभए विद्रोह गरेरै भएपनि नयाँ ढंगले अगाडी बढ्ने संकेत खनालले दिइसकेका छन् । खनालले व्यक्तीगत रुपमा मात्र होइन, यो मतमा पार्टीबाटै अध्यक्ष नेपालमाथि दवाव बनाउने स्पष्ट रणनीति लिइसकेका छन् ।

गत भाद्र ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकमा संस्थागत रुपमै खनालले गठबन्धनबाट बाहिरिएर आफ्नो संगठन विस्तारमा काम गर्नुपर्ने मत सशक्त ढंगले राखेका थिए । तर नेपाल तत्कालै गठबन्धनबाट बाहिरिने मुडमा देखिएका छैनन् । आफ्नै नेतृत्वमा हालको गठबन्धन निर्माण भएकाले यसलाई तोड्ने चेष्टा नगर्न उनले चेतावनीनै दिएका छन् ।

अध्यक्षले नमान्ने देखिएपछि खनालले नेपाललाई नै विस्थापित गर्ने प्रयास सुरु गरिसकेका छन् । आगामी माघ १४ देखि १८ गते तय भएको पार्टी महाधिवेशनमा नेतृत्वमै प्रतिस्पर्धा गर्ने संकेत यसअघिनै खनालले गरिसकेका छन् । त्यसका अलावा पार्टीमा पछिल्लो समय चलेको शक्तिसंघर्षको अलगै फेहरिस्त छ ।

भाद्र ५ देखि ७ गतेसम्म बसेको छैटौँ केन्द्रीय कमिटी र १७–१८ गते बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयनका लागि जारी गत भदौ २८ गते अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशीका जारी गर्यो ।

केन्द्रीय कमिटी र सचिवालय बैठकभन्दा बाहिर गएर अपानी जारी गरेको भन्दै अध्यक्ष नेपालप्रति झलनाथले आगो ओकल्दै आएका छन् ।अध्यक्ष नेपालले भाद्र २८ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा आफु निकट २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

छैटौँ केन्द्रीय कमिटी बैठकमा जबजलाई बोकेर जाने माधव नेपालको प्रस्तावप्रति खनालले तीब्र असन्तुष्टी जनाएका थिए ।
हालको कांग्रेसँगको गठबन्धन सरकारबाट बाहिरिनुपर्ने भन्दै खनाल समुहले अध्यक्ष नेपाललाई ¥याख¥याख्ती पारेका थिए । एकिकृत समाजवादीले आगामी पुसमा महाधिवेशनको तयारी गरेको छ ।

महाधिवशेनमा आफैँ अल्पमतमा पर्ने देखिएपछि अध्यक्ष नेपाल अहिले तनावमा देखिएका छन् । पार्टीमा आफ्नो शक्ति विस्तारकै लागि भर्खरै पार्टीमा प्रवेश गरेकालाई समेत नेपालले जिम्मेवारीमा तानेका छन् । अध्यक्षले एकलौटी ढंगले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै खनाल अझ चिढिएका छन् ।

नेता खनालले पछिल्लो समय निरन्तर विरोध गर्न थालेपछि अध्यक्ष नेपाल समेत चिढिएका छन् । पार्टीको जिम्मेवार पदमा बसेर अनुसासनहिन टिप्पणी गर्दै हिँड्न थालेपछि उनलाई अनुशासनको दायरा सम्झाईदिएका छन् ।

खनाल नेपालको यो द्वन्द्वले पार्टीलाई थप अप्ठ्यरोमा पार्ने निश्चित जस्तै देखिएको छ । विभाजन पछिको पार्टीको आकार बिस्तारै खुम्चिँदै छ । नेता कार्यकर्ताहरु निरन्तर एमालेमा फर्किरहेका छन् ।

नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ बाट निर्वाचनका लागि एमालेले खनाललाई आह्वान गरेको बुझिएको छ । यस्तोमा नेकपा एसको भविष्य झन अन्यौलमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array