सन्दीपको मुद्दामा आज पनि भएन सुनवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८०, आईतवार
2 Min Read
Aa

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आजका लागि तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा राखिएको छ। अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको पेसी ५ औं नम्बरमा थियो। आजका लागि तोकिएको सुनुवाइ स्थगित भएसँगै सन्दीप भोलि (सोमबार) पाकिस्तान जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

एसिया कप खेल्न उनी पाकिस्तान जान लागेका हुन्। सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेको थियो। यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिवडाको इजलासले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो।

- Advertisement -
Ad image

अदालतमा पेस गरिएको आमाको उमेर विवादित देखिएपछि अदालतले थप प्रमाण बुझ्न भनेको थियो। उनको उमेर प्रमाणित हुने कागजात अदालतमा पेस भइसकेको छ। अन्तिम सुनुवाइका लागि मुद्दा पटकपटक पेसी चढाइएको छ। तर फैसलाका लागि बहस हुन सकेको छैन। जिल्ला अदालतमा यो मुद्दा २६औं पटक पेसीमा चढेको हो।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले २०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहसपछि जिल्ला अदलातले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए। उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको अरु आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध हटाएको थियो।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए।

सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्